पाँच लाख घुससहित मालपोतका हाकिम रंगेतहात पक्राउ

काठमाडौं, ६ मंसिर । अख्तियारको टोलीले ५ लाख रुपैयाँ घुससहित भूमि सुधार तथा मालपोत कार्यालय सिरहाका प्रमुख रामबाबु मण्डललाई शुक्रबार बिहान कार्यकक्षबाटै पक्राउ गरेको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको बर्दिबासस्थित कार्यालयका सूचना अधिकृत तथा उपसचिव हरिप्रसाद घिमिरेका अनुसार मण्डललाई सेवाग्राहीबाट ५ लाख रुपैयाँ घुस लिइसकेको अवस्थामा रंगेतहात पक्राउ गरिएको हो ।

सूचना अधिकारी घिमिरेका अनुसार मण्डलले एकजना सेवाग्राहीका नाममा आएको जग्गाबारेको निर्णयसहितका कागजात उच्च अदालत जनकपुरको राजविराज इजलासमा पठाउन आनाकानी गर्दै घुस मागेका थिए।

घुस मागेको जानकारी सेवाग्राहीले दिएपछि अख्तियारको टोली सिरहा पुगेको थियो। हामीले उनलाई घुस लिइसकेको पैसासहित रंगेहात पक्राउ गरेका छौँ, घिमिरेले थाहाखबरसँग भने, यसबारेमा विस्तृत विवरण आइसकेको छैन। मण्डललाई अख्तियारको टोलीले नियन्त्रणमा लिइ बर्दिबास ल्याइरहेको छ।

Loading...