प्रधानमन्त्री ओलीले बस्नेतलाई मन्त्री बनाउने वचन बिर्सेका त छैनन ?

भक्तपुर, २ मङ्सिर । राजनीति गर्नेहरुका लागि पदले बिशेष महत्व राख्दछ । पदले काम गर्न सहज हुने आम राजनीतिकर्मीको बुझाइ हुन्छ । कोही नेताहरु पद नपाउदा पनि काम गर्न सक्छन भने कोही पद पाएर पनि प्रभावकारी तरीकाले काम गर्न नसक्ने खालका पनि हुन्छन ।

नेकपा नेतृत्वको सरकार यस्तै काम गर्न नसक्ने मन्त्रीका कारण आलोचित छ । नेकपा अध्यक्ष समेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीको दुई तिहाईको सरकार प्रभावकारी तरीकाले काम गर्न नसक्ने केही मन्त्रीका कारण सुस्त बनेको र जनअपेक्षा अनुरुप काम हुन नसकेको नेकपाकै मानिसहरु गुनासो गर्दछन । कतिपय गुनासा आफ्ना निकटका नेता मन्त्री नबनेकोमा देखिएपनि सरकारको चालढाल हेर्दा उनीहरुको आरोपमा दम देखिन्छ ।

प्रधानमन्त्री ओलीले नागरीकलाई सपना देखाइरहेका छन् । सुखी नेपाली र समृद्ध नेपाल बनाउने उनको अडान अथावत छ । तर, कामकुरा एकातिर भने झैँ उनका मन्त्रीहरु भने कुहिरोको काग झैँ अन्तै हराइरहेका छन् । मन्त्री हुनुको कर्मकाण्डी कुरा अपवाद बाहेकका मन्त्रीले गर्न सकेका छैनन् । उनीहरुले जनतालाई राहत दिने गरी कुनै नयाँ दृष्टिकोण, योजना र कार्यक्रम अघि सार्न सकेका छैनन् ।

आफ्नो दुई वर्षे कार्यकाल ख्यालख्यालमै जान लागेको प्रधानमन्त्री ओलीले त्यति बेला थाहाँ पाए जतिबेला नेपालको भूभाग कालापानी नै भारतीय नक्सामा राखेर भारतले हेपाइको हद देखायो । अघिल्लो कार्यकालमा राष्ट्रवादी छवी बनाएका प्रधानमन्त्री ओलीलाई यसले बिचलित बनाएको कुरा उनले आफ्ना सचिवालयका सबैको राजिनामा मागबाट पनि प्रष्ट हुन्छ ।

उनले कालापानीमा भारतले के गर्दैछ भन्ने जानकारि नपाउनु भनेको उनी गुमराह हुनुकै नतिजा हुनुपर्छ । जतिबेला उनले चाल पाए त्यतिबेलादेखि उनले प्रमुख राजनीतिक दलहरुसहितको भेला डाकेर उक्त विषयमा राष्ट्रिय एकता कायम गर्न सफल भएको र भारतलाई सेना फिर्ता लैजान भनिरहेको समाचारहरुले संचारमाध्यममा प्रमुखता पाइरहेका छन् ।

प्रधानमन्त्री ओलीमा देशप्रेम र विकासको दृढ इच्छाशक्ति देखिएपनि उनको स्पिरिटलाई पक्रेर मन्त्रीपरिषदले काम गर्न सकेको देखिदैन । त्यसैले पनि पछिल्लो समय आफ्नो मन्त्रीमण्डल फेर्ने कसरतमा रहेका छन् उनी । नेकपा भित्रको पछिल्लो समीकरण अनुसार अर्का पार्टी अध्यक्ष प्रचण्डले प्रधानमन्त्री पदमा आशक्ति नदेखाएपछि ओली आफ्ना सुस्त मन्त्रीहरु फेरेर उर्जावान र क्षमतावान सांसदहरुलाई नयाँ मन्त्रीको रुपमा भित्राएर नयाँ संदेश दिने तयारीमा जुटेका उनी निकट श्रोतले जनाएको छ ।

मन्त्री राख्ने र हटाउने स्वविवेकी अधिकार प्रधानमन्त्रीलाई प्राप्त छ । तर उनको तजविजिमा यो निर्णय हुदैन । उनले यो विषयमा पार्टी सचिवालयमा प्रस्ताव गरिसकेका छन् । केहि दिन भित्रै मन्त्रीमा नयाँ अनुहार भित्रिने एक सचिवालय सदस्यले जानकारी गराए । तर, नामका बारे उनले केही बताउन चाहेनन् । ‘केही अनुभवी र नतिजा निकाल्न सक्नेलाई ल्याउनुपर्यो भनेर प्रधानमन्त्रीले भनेका मात्र हुन ।’ उनले भने ।

नयाँ मन्त्री बन्ने हल्लासंगै को को मन्त्री बन्ने भन्ने चर्चाले बजार तताएको छ । एक दर्जन सम्भावित नामहरुमा भक्तपुरका निर्वाचित सांसद महेश बस्नेत पनि मन्त्री बन्ने बताइएको छ । बस्नेत सांसद नरहदै उद्योग मन्त्री भएका कारण अहिले उनको चर्चा चलेको भने होइन । प्रम ओलीले चुनावी कार्यक्रममा बस्नेतलाई मन्त्री बनाइदिने भन्दै सार्वजनिकरुपमै बचन दिएका थिए । आफ्नो बचनमा पक्का ओलीले मन्त्री नबनाएपछि कतिपयले सांसद बस्नेत र प्रधानमन्त्री ओलीबीच सम्बन्ध बिग्रिएको संकेतका रुपमा पनि बुझे ।

तर, श्रोतका अनुसार आलोपालोको सहमति गरेका ओलीले बस्नेतलाई प्रचण्ड नेतृत्वमा बन्ने सरकारमा पावरफुल मन्त्रालय दिने भन्दै उनको बदला अर्का सांसद गोकुल बाँस्कोटालाई मन्त्री बनाइदिएका थिए । यतिबेला प्रचण्डले आफू पार्टीकै नेतृत्वमा रहने भनेपछि मन्त्रीहरु फेरिन लागेको र सांसद बस्नेतलाई भौतिक योजना मन्त्रालयको जिम्मेवारी दिइन लागेको श्रोतको दावी छ ।

प्रधानमन्त्री ओलीको विस्वासपात्रका रुपमा रहेका सांसद बस्नेतको राजनीतिक उचाइ ओलीले नै बढाईदिएका हुन् । युवा संघमा उनलाई स्थापित गरेर नेता बनाउने देखि टिकट दिएर सांसद बनाउनेसम्ममा ओलीकै हात छ । त्यतिमात्र होइन चुनावी सभामा भक्तपुरवासीले निर्वाचित गराए आफूले बस्नेतलाई सांसद बनाइदिने उनले बचन दिएका थिए । जुनकारण नेपाली काँग्रेसका हेभी वेट उम्मेदवार दमननाथ ढुंगानालाई सजिलै पराजित गरी बस्नेतले बाजी मारे ।

भनिन्छ, नेताहरु चुनावको बेलामा बचन धेरै दिन्छन तर पुरा गर्दैनन । प्रधानमन्त्री ओलीले चुनावका बेला बस्नेतलाई जिताए मन्त्री बनाइदिने भन्दै दिएको बचन पुरा गर्छन कि गर्दैनन रु त्यो केही दिनमै थाँहा हुनेछ । भक्तपुरमा निर्वाचन क्षेत्र नम्बर १ अन्तर्गत प्रदेश क्षेत्र नम्बर १ मा प्रदेश सभाको चुनाव हुदैछ । नेकपाले आफ्ना उम्मेदवार डीपी ढकाललाई प्रदेश मन्त्री बनाउने उपाध्यक्ष बामदेव गौतम लगायतले बताएका छन् । २ वर्ष अघि भक्तपुरबासीलाई दिएको बचन पुरा नभएको अवस्थामा तत्काल त्यो कुरा पत्याइहाल्ने अवस्था भने छैन । अब हेरौँ नयाँ मन्त्रीको अनुहारमा भक्तपुरले यो पटक आफ्नो जनप्रतिनिधिलाई पाउछ कि पाउदैन । हेरौँ, प्रधान मन्त्री ओली आफैले आफ्नो गृह जिल्लाका बासिन्दालाई दिएको बचन पूरा गर्छन कि गर्दैनन ।

Loading...