पाल्पा, २६ कात्तिक । रोग पहिचान नगरी शल्यक्रिया गर्दा गुल्मी रेसुङ्गा नगरपालिका–८ की १७ वर्षीया लक्ष्मी रसालीको मृत्यु भएको छ । पाल्पाको लुम्बिनी मेडिकल कलेज प्रभासमा ‘एपेन्डिक्स’को उपचारका क्रममा शल्यक्रिया गर्दा बिरामीको रक्त नशा फुटेर रगत बगेकोे अस्पतालको दाबी छ ।
लुम्बिनीमा थप उपचार हुन नसक्ने भएपछि चिकित्सकसहितको टोलीसँग भैरहवा मेडिकल कलेजमा उपचारका लागि बिरामीलाई लगिएको थियो । शनिबार सामान्य बिरामी भएपछि पाल्पामा उपचारका लागि ल्याएको र आइतबार बिरामीको शल्यक्रिया गर्दा गदै मृत्यु भएको मृतककी आमा रेश्मी रसालीले जानकारी गराईन । शल्यक्रिया गर्दा लापरवाहीले छोरीको मृत्यु हुन गएको आमा रेश्मी रसालीको दाबी छ ।
एपेन्डिक्सको शल्यक्रिया गर्दा पेटभित्र नशा फुटेर रगत जमेको थियो । जमेको रगत हटाइयो । नशा फुटेर बगेको रगत रोक्नका लागि नशाको शल्यक्रिया गर्न भैरहवा मेडिकल कलेजमा चिकित्सकसहित पठाइएको कलेजका वरिष्ठ सर्जर डा राजकुमार क्षेत्रीले बताए ।
कलेजका प्रवक्ता कृष्ण पराजुलीले शल्यक्रियापछि थप उपचार आवश्यक रहेकोले भैरहवा लैजाँदा मृत्यु भएको बताए । पीडित र अस्पतालबीच पटक–पटक सहमतिका लागि वार्ता भएको छ । मृतकको शव भैरहवास्थित कलेजमा रहेको छ ।