उपचार गर्ने वाहनामा कारागारबाट पाँच तारे होटेल र घरघरमा कैदी पुर्याएर मोज गराएको खुलासा, पहरो गर्जदै

काठमाडौं, २४ कार्तिक । जेल सजाय भोगिरहेका एक व्यक्तिलाई अस्पताल लाने वाहनामा पाँच तारे होटलमा लगेर मस्ती गराउने गरेको खुलेपछि नेपाल प्रहरीका एक अधिकृत निलम्बनमा परेका छन् ।

राजधानीको डिल्लीबजारस्थित सदरखोर जेलमा कार्यरत प्रहरी सहायक निरीक्षक प्रकाश ढाँट निलम्बनमा परेका हुन् । उनले चर्चित सुडान घोटला प्रकरणमा दोषी ठहर भई सजाय भोगिरहेका ठेकेदार शम्भु भारतीलाई यसरी पाँच तारे होटल पुर्याएको खुलेको छ । ढाँटले जेल सजाय भोगिरहेका भारतीलाई होटलमा मात्र पुर्याएनन, उनकै घरमा समेत लगेको खुलेको छ । होटल र घरमा लगेर सबै गर्ने काम गराएपछि अन्तिममा साँझपख उनलाई कारागार पुर्याइएको थियो । तर, कारागार फर्किदा उनीहरुले साथमा राख्नुपर्ने कागजात भेटेनन । त्यसपछि उनीहरु संकटमा परे र अन्ततः निलम्बनसम्म यो घटनाक्रम पुगेको छ । तर, अझै पनि भारतीलाई यसरी अस्पताल पठाउने नाममा कहाँ कहाँ घुम्न पठाइन्थ्यो, कस्तो मोजमस्ती गराइन्थ्यो भन्ने अझै अध्ययन हुन बाँकी छ । साथै यो काममा निलम्बनमा परेका असई मात्र पक्कै होइनन । त्यसैले यसमा अरु को को सम्लग्न थिए भन्ने कुरा पनि बुझ््नुपर्ने भएको छ । यस लहरोमा कस्तो खालको पहरो खस्ला भन्ने कुरा पनि धेरैले चासोपूर्वक हेरेका छन् ।

स्र्रोतका अनुसार यो घटना गत बुधबारको हो । बुधवार शम्भु भारती कारागारमै कार्यरत दुई जना प्रहरीका साथमा कुपन्डोलस्थित होटल हिमालयमा पुगेका थिए । उनी डिल्लीबजारबाट बा२च ३१२६ नम्बरको ट्याक्सीमा हिमालय होटल पुगेका थिए । होटलबाट उनी सोही होटलको पार्किङमा रहेको टिगुवान गाडी चढेर पुल्चोकतर्फ लागेको सिसिटिभी फुटेजमा देखिएको छ । स्रोतका अनुसार उक्त टिगुवान गाडी उनै भारतीको हो ।

होटलसम्म पुग्दा दुई प्रहरी र एक भारती गरी तीन जना थिए भने होटलबाट निस्कदा केही बढी मान्छे रहेका थिए । जसमा उक्त गाडीमा उनकी श्रीमती पनि चढेको बुझिएको छ । होटल हिमालयपछि उनीहरू नख्खुस्थित घरमा गएर डिल्लीबजार कारागार गएको प्रहरीले जनाएको छ। वीर अस्पतालमा उपचारको बहाना देखाएर त्यहाँबाट निस्केका भारती जब कारागार पुग्छन्, कारागारले उपचार र बाहिर जान दिएको पास भुल्छन्।

कहाँ छोडियो भन्ने न भारतीलाई थाहा हुन्छ न उनकै सुरक्षामा खटेका दुई प्रहरीलाई। वीर अस्पतालले बिरामी जाँचेको कागजात भारतीले बुझाउन नसकेपछि कारागार व्यवस्थापनले अनुसन्धान सुरू गर्छ।

भारती र उनको सुरक्षामा खटेका प्रहरीले कागज हराएको बहाना मात्र देखाइरहेको कारागारले जनाएको छ। भोलिपल्ट बिहीबार कारागारले बाहिर निस्कन दिएको कागजात पुल्चोक प्रहरीको हातमा पर्छ।

क्युआरटीमा खटेका प्रहरी होटल हिमालयको कार्यक्रममा पुग्दा त्यहाँको सुरक्षा गार्डले ट्याक्सी चालकले कागजात छोडेर प्रहरीलाई दिनु भनेकाले प्रहरीको हात परेको ललितपुर प्रहरीले जनाएको छ। त्यसपछि पुल्चोक प्रहरीले कागजातका बारेमा डिल्लीबजार कारागारलाई खबर गर्छ।

कारागारका एक कर्मचारी आएर सो कागजात लगेपछि भारती हिमालय होटल पुगेको पुष्टि हुन्छ। महानगरीय प्रहरी कार्यालय रानीपोखरीले भारतीलाई उपचार बहानामा होटल हिमालयन लगेर ‘मोज’ गराएको आरोपमा असईलाई निलम्बन गरेको हो । यो घटनाबारे ललितपुर प्रहरी परिसरले पनि छानबिन गर्न प्रहरी उपरीक्षक दुर्गा सिंहको नेतृत्वमा तीन सदस्यीय समिति गठन गरेको छ।

सर्वोच्च अदालतले भारतीलाई १४ करोड २० लाख बिगो र जरिवानासहित एक वर्ष जेल सजाय फैसला गरेको थियो। भारती निर्माण कम्पनी अस्योर्ड रिक्स लिमिटेड, लन्डनका स्थानीय प्रतिनिधि र भगवती ट्रेडर्सका सञ्चालक हुन्।

यही कम्पनीबाट खरिद भएको सामानमा अनियमितता भएको थियो। सर्वोच्च अदालतको २०७४ वैशाख १७ गतेको फैसलाअनुसार भ्रष्टाचार मुद्दामा एक वर्ष कैद तथा बिगोको आधा १४ करोड २० लाख ८ हजार ३ रुपैयाँ ३ पैसा जरिवाना ठहर भएदेखि दुई वर्ष भारती फरार रहेका थिए।

मुख्य आपूर्तिकर्ता ‘एस्योर्ड रिक्स कम्पनी लण्डन’को तर्फबाट उनी प्रतिनिधि थिए। सुडानको डार्फरमा खटिने नेपाल प्रहरीको आवश्यक बन्दोबस्तीका सामान ९एपिसी० खरिद गर्न आफैं एजेण्ट भएको उक्त कम्पनीलाई ठेक्का पारी ‘आइएसओ स्ट्यान्डर्ड’को ‘एपिसी’को सट्टामा कोटेशनमा मूल सम्झौताको विपरीतका सर्तहरू थपेर ८ थान पुराना र काम नलाग्ने एपिसी सप्लाई गराएको अनुसन्धानबाट खुलेको थियो।

नेपाल प्रहरीको शान्ति मिसनका लागि आवश्यक बन्दोबस्तीका सामान खरिद तथा ढुवानी गर्दा भ्रष्टाचार भएको दाबीसहित अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भारतीसहित पूर्वप्रहरी महानिरीक्षक हेमबहादुर गुरुङ, रमेशचन्द ठकुरी र ओमविक्रम राणाविरूद्ध भ्रष्टाचार मुद्दा दायर गरेको थियो।

Loading...