काठमाडौँ, ८ असोज । अन्तरदेशीय पर्यटन प्रवद्र्धन सहकार्यको दायरालाई फराकिलो बनाउँदै दक्षिण एशियाली क्षेत्रीय सहयोग संगठन (सार्क) क्षेत्रीयस्तरमा पु¥याई पर्यटन प्रवद्र्धन गर्न त्रिदेशीय सम्झौता भएको छ ।
होटल एशोसिएशन नेपाल (हान), फेडरेशन अफ होटल एण्ड रेस्टुरेन्ट एशोसिएशन अफ इन्डिया र होटल एण्ड रेस्टुरेन्ट एशोसिएशन अफ भुटानकाबीच हालै बैंगलोरमा समझदारी भएको हानले आज विज्ञप्तिमार्फत जनाएको छ ।
उक्त समझदारीपत्रमा हानका अध्यक्ष अमरमान शाक्य, फेडरेशन अफ होटल एण्ड रेस्टुरेन्ट एशोसिएशन अफ इन्डियाका अध्यक्ष के श्यामा राजु र होटल एण्ड रेस्टुरेन्ट एशोसिएशन अफ भुटानका अध्यक्ष थिन्ले पाल्देन दोर्जीले हस्ताक्षर गरेका थिए ।
सो समझदारीपत्रमा तीनै देशका होटल एशोसिएशनमार्फत नेपाल, भारत र भुटानबीच अन्तरदेशीय पर्यटन प्रवद्र्धनलगायत होटल उद्योगमा बढ्दै गइरहेको आतिथ्यतासम्बन्धी तालिम तथा प्रशिक्षण कार्यक्रम आदान प्रदान गर्ने कुरा उल्लेख छ ।
पर्यटन विकासका लागि दक्ष जनशक्ति नै मुख्य आधार रहेकाले तीनवटै मुलुकका होटल एशोसिएशनको समन्वयमा अन्तरदेशीय तालिम, गोष्ठी, प्रवद्र्धनात्मक कार्यक्रम, वार्षिक बैठक पालैपालो आयोजना गरिने समझदारी भएको छ ।
यस्तै, अन्तर्राष्ट्रियस्तरको आतिथ्यता प्रदान गर्नका लागि आवश्यक पर्ने तालिम, पुस्तिकालगायत यस उद्योगमा संलग्न जनशक्तिबीच तीनै देशमा अन्तरक्रिया कार्यक्रम पनि आयोजना गरिनेछ । तीनवटै मुलुकका पर्यटन योजना तर्जुमाका लागि आवश्यक तथ्यांक संकलन तथा व्यवस्थापन गर्न आपसी सहकार्य गरिने उल्लेख छ ।