प्लास्टिकका बोतल प्राकृतिक रूपमै नष्ट हुन चार सय वर्ष लाग्ने

२०५० सम्ममा १२ अर्ब मेट्रिक टन प्लास्टिक फोहोर विश्वमा थपिँदै

काठमाडौँ, २४ कात्तिक । प्लास्टिकबाट विश्वव्यापी वातावरणीय प्रदूषणका लागि कोकाकोला ब्रान्ड मुख्य जिम्मेवार रहेको पाइएको छ । छ महादेशका ५१ देश समेटेर ब्रेक फ्री फ्रम प्लास्टिकले सार्वजनिक गरेको प्रतिवेदनअनुसार सबैभन्दा धेरै प्लास्टिक फोहोर उत्पादन गर्ने प्रतिष्ठानमा कोकाकोला परेको हो । उसको अध्ययनमा गत वर्ष पनि कोकाकोला नै पहिलो स्थानमा थियो ।

विश्व वातावरणीय सरसफाइमा योगदान दिने र मुख्य प्रदूषक पहिचान गर्ने उद्देश्यले चालिएको सो ब्रेक फ्रि फ्रम प्लास्टिक अभियानमा यस वर्ष ७२ हजार ५४१ स्वयंसेवक परिचालन गरिएका थिए । यसका लागि ८४८ सफाइ अभियान सञ्चालन गरिएको थियो । प्रतिवेदनअनुसार चार लाख ७६ हजार ४२३ टुक्रा प्लास्टिक फोहोर सङ्कलन गरिएकामा कोकाकोलाको मात्रै ११ हजार ७३२ टुक्रा थिए । अध्ययन गरिएका ५१ देशमध्ये कोकाकोला ३७ देशमा प्रदूषकका रूपमा देखिएको छ ।

दोस्रो स्थानमा नेस्ले ब्रान्ड रहेको छ । यसको फोहरको उपस्थिति ३१ देशमा देखिएको छ । अध्ययनका क्रममा नेस्लेका चार हजार ८४६ टुक्रा भेटिएका छन् । प्रदूषकको तेस्रो स्थानमा रहेको पेप्सीको ब्रान्डका प्लास्टिक फोहोर २८ देशमा फेलापरेका छन् । चौथो र पाँचौँ स्थानमा क्रमशः मोन्डेलिज इन्टरनेसनल र युनिलिभर छन् ।

अभियानका क्रममा ४८४ ब्रान्डका फोहोर फेलापरेका थिए । यीमध्ये ४३ प्रतिशत उपभोग्य वस्तुका अन्तर्राष्ट्रिय ब्रान्ड रहेको उल्लेख छ । वातावरणीय प्रदूषणको चाप व्यापक रूपमा बढी रहेको र त्यसलाई नियन्त्रण गर्न यस्ता प्रतिष्ठित भनिएका ब्रान्डका उत्पादनको बजारीकरणको विधि परिवर्तन अपरिहार्य रहेको प्रतिवेदनमा औँल्याइएको छ ।

ब्रेक फ्रिले अध्ययनमा भनेको छ, यी ब्रान्डधारी कम्पनीलाई आफ्ना उत्पादन वितरण प्रणालीमा व्यापक परिवर्तन नगराएसम्म प्लास्टिक प्रदूषण रोकथाम असम्भव छ । कोकाकोलाका प्रतिनिधिले भने प्लास्टिकमुक्त विश्व सम्भव नरहेको भन्दै आफ्नो बचाउ गरेका छन् । कोकाकोलाको वातावरणीय नीति विभागका वरिष्ठ निर्देशक बेन जोर्डनले भनेका छन, विश्वका धेरै मानिस प्लास्टिकमुक्त विश्व होस् भन्ने चाहना राख्छन् तर हामीलाई थाहा छ यो हुनै सक्दैन । हामी वर्षौंदेखि प्लास्टिक प्रयोग गर्दै आएका छौँ । वातावरण संरक्षण क्षेत्रमा सक्रिय अन्तर्राष्ट्रिय संस्था नेसनल जिओग्राफिकका अनुसार विश्वभर प्रतिमिनेट १० लाख टन प्लास्टिक उत्पादन हुन्छ ।

पुनः प्रयोग गर्न मिल्ने भए पनि उत्पादितमध्ये ९ प्रतिशत मात्रै पुनः उत्पादनमा जाने गरेको छ । बाँकी १२ प्रतिशत जलाएर नष्ट गरिन्छ । यसले वायु प्रदूषणलाई बढावा दिन्छ । बाँकी ७९ प्रतिशत प्लास्टिक डम्पिङसाइट या अन्य क्षेत्रमै रहेको हुन्छ । पोलिथिन टेरिफ्थालेटबाट बन्ने प्लास्टिकका बोतल प्राकृतिक रूपमै नष्ट हुन चार सय वर्ष लाग्छ । एक अध्ययन प्रक्षेपणअनुसार सन् २०५० सम्ममा १२ अर्ब मेट्रिक टन प्लास्टिक फोहोर विश्वमा थपिँदै छ ।

Loading...