कुखुरा फार्मले बदलिदियो सदाको दिनचर्या

लहान, २० कात्तिक । कुनै बेला वैदेशिक रोजगारीमै आफू र परिवारको भविष्य देखेर विदेशिएका सप्तरीको शम्भुनाथ नगरपालिका–३ कचनदाहाका रविन सदा अहिले घरमै कुखुरापालनमा रमाइरहेका छन । घर नजीकै खाली रहेको जग्गामा उनको कुखुरा फार्म छ । कुखुरापालनबाटै राम्रो आम्दानी हुन थालेपछि पैंतीस वर्षीय सदाले अब विदेश जाने सोच नै त्याग्नु भएको छ । काम गर्न पटक पटक मलेसिया र साउदी अरब गएका सदा विदेशमा जस्तैे मिहिनेत स्वदेशमै गर्न सकिए कुखुरा पालेरै पनि मनग्ये कमाउन सकिने बताए ।

“विदेशमा धेरै दःुख कष्ट झेलें, कहिले मिहिनेत अनुसारको पैसा नपाउने त कहिले अनावश्यक झमेलाहरु खेप्नुपर्ने,” उनले भने – “अब घरमै परिवारसँग बसेर आम्दानी गर्ने सोचका साथ कुखुरा फार्म सञ्चालन गरेको छु ।” करीब ६० हजार रुपैयाँ खर्चिएर घर नजीकै रहेको आफ्नै पाँच धुर जग्गामा बनाइएको उनको कुखुरा फार्ममा अहिले तीन तीन किलोका १२० वटा ब्रोइलर कुखुरा छन् ।

थोरै लगानी र छोटो समयमै राम्रो आम्दानी कमाउन सकिने देखेपछि ब्रोइलर कुुखुरापालनमा लागेका सदाले भने – “कुखुरा फार्मबाट मासिक करीब रु ५० हजार कमाइ भइरहेको छ । यसले कुखुरा फार्म सञ्चालन गर्न मलाई थप उत्साह मिलेको छ । परिवारका सबै सदस्यसँगै बस्नुको आनन्द त छँदैछ, त्यसमाथि घरमै मनग्ये आम्दानी भइरहेकाले जीवन नै परिवर्तन भएको अनुभूति भइरहेको छ ।”

आफूमा आएको यस्तो परिवर्तनमा श्रीपुर्राज सामुदायिक विकास केन्द्रको ठूलो योगदान रहेको रविन बताउछन । द फ्रिडम फण्डको सहयोगमा केन्द्रले हरवाचरवालाई लक्ष्य गरी सञ्चालन गरेको कुखुरापालन तालीममा उनि सहभागी भएका थिए । उनलाई कुखुरा फार्म सञ्चालन गर्न केन्द्रले आर्थिक सहयोगसमेत गरेको छ । “कुनै व्यवसाय गर्छु भन्ने सोच त पहिल्यै थियो तर, कसरी गर्ने भन्ने आँट आएको थिएन,” रविनले भने – “श्रीपुर्राजले गाउँमै सञ्चालन गरेको कुखुरापालन तालीममा बसेपछि व्यावसायिक रुपम कुखुरापालन गर्ने हौसला मिलेको हो ।”

करीब रु ७० हजारको पुँजीमा एक वर्ष अघिदेखि व्यावसायिक कुखुरा फार्म सञ्चालन गर्दै आएका सदाले अहिले पुँजी थपेर रु २ लाख पु¥याएका छन । श्रीमतीसहित परिवारका अन्य सदस्यहरुबाट गतिलो साथ पाइरहेका सदाले भने– “कुखुरा फार्म सञ्चालनमा ल्याएपछि आफ्नो दिनचर्या समेत परिवर्तन भएको महशुस भइरहेको छ ।”

पहिला कुनै काम नपाएर गाउँका साथीभाइसँग जुवातास खेलेर व्यर्थमा समय फालेकामा उनलाई पछुतो लाग्छ । त्यसैले समयको सदुपयोग गर्न उनि अरुलाई सुझाव दिए । अन्य व्यवसायमा भन्दा ब्रोइलर कुखुराका लागि बजारको अभाव नभएको अनुभव सुनाउँदै सदाले भने – “आफूले कुखुरा फार्म उत्पादन गरेको ब्रोइलर कुखुरा किन्न गाउँका सर्वसाधारणदेखि मासु पसल सञ्चालकसम्म फार्ममै आउने गरेका छन् ।” यसले गर्दा बिक्री गर्न कुखुरा बजार लैजानुपर्ने बाध्यता उनलाई छैन ।

Loading...