पूर्व एमाले नेताहरु असन्तुष्ट बन्दा भक्तपुरका नेकपा उम्मेदवारलाई बिबादमा तान्ने प्रयास

भक्तपुर, १८ कात्तिक । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) भक्तपुर कार्यालयमा तालाबन्दी गरिएको छ ।

आगामी मङ्सिर १४ गते हुने उपनिर्वाचनमा प्रदेश ३ भक्तपुर क्षेत्र नं. १ (क) का लागि पार्टीले देवीप्रसाद अर्थात डीपी ढकाललाई उम्मेदवारी बनाएकोमा आपत्ति गर्दै आज कार्यालयमा तालाबन्दी गरिएको हो ।

नेकपा जिल्ला कमिटी सदस्य मन्दरा मिश्र, साधुराम दाहाललगायत जिल्ला कमिटीका पदाधिकारी, सदस्य, चाँगुनारायण क्षेत्रका नेकपाका सयौँ कार्यकर्ताको टोलीले उम्मेदवारप्रति असन्तुष्टि जनाउँदै तालाबन्दी गरेका हुन् ।

टोलीले सूर्यविनायकस्थित पार्टी कार्यालयको ढोकामा प्रेस विज्ञप्ति टाँसेर दुईवटै ढोकामा तालाबन्दी गरी नाराबाजी गरेका छन् । पार्टी कार्यालय बाहिर पनि पार्टीको निर्णयविरुद्ध चर्को नाराबाजी गरिएको थियो ।

तालाबन्दी पछि पार्टी जिल्ला कमिटी सदस्य मन्दरा मिश्रले पार्टी ‘हाइकमाण्ड’ले यो निर्णय नसच्याएसम्म पार्टी कार्यालयमा छाड्न नहुने र धर्ना बस्नुपर्ने भन्दै कार्यकर्तालाई पार्टी कार्यालय नछाड्न निर्देशन दिएका थिए ।

अर्का जिल्ला कमिटी सदस्य साधुराम दाहालले गतनिर्वाचनमा उम्मेदवार भई ७८६ मत ल्याएका ढकाललाई उम्मेदवार बनाउँदा पार्टीको जीत सुनिश्चित नहुने भएकाले सहज रूपमा जित्ने नेतालाई टिकट दिनुपर्ने मागसहित तालाबन्दी गरिएको बताए ।

पार्टीले निर्णय फिर्ता लिएर अर्को उम्मेदवार चयन नगरेसम्म तालाबन्दी जारी राखिने आन्दोलनरत् पक्षले बताएका छन् । नेकपा भक्तपुर जिल्लाले रमेश बुढाथोकी, मोहनवीर श्रेष्ठ, डीपी ढकाल र नारायणी दङ्गालको नाम सिफारिस गरेको थियो । ढकालबाहेक सबै पूर्व एमालेका नेता हुन् ।

ननस्टपखबर लाई प्राप्त सूचना अनुसार भक्तपुरमा पूर्व एमाले नेताहरुले पूर्व माओबादी नेता डीपी लाई उम्मेदवार स्वीकार गर्न नसक्दा बिबाद उत्पन्न गराइएको हो । जिल्लाका सह इन्चार्ज सोम मिश्र,अर्का केन्द्रिय सदस्य एवं सांसद महेश बस्नेत, अध्यक्ष बचन देउजाले सामाजिक संजालमासमेत डीपीलाइ शुभकामना दिएका छैनन् । पूर्व एमाले केहि नेताकै निर्देशनमा एउटा समूह केन्द्रको निर्णय बिरुद्द नाराबाजीमा उत्रिएका ढकाल निकट एक जिल्ला सदस्यले बताए ।

यस अघिको निर्वाचनमा ढकालले पार्टीको आधिकारीक उम्मेदवार भएर उम्मेद्वारी दर्ता गराएपनि हरिशरण लामिछानेले बागी उम्मेद्वारी दिएपछि पार्टीको निर्देशनमा ढकाल पछि हटेका थिए । सहमती कुर्दाकुर्दै उम्मेद्वारी फिर्ता लिने समय बितिसकेकाले चुनावी गठबन्धन जोगाइराख्न भन्दै तत्कालिन नेकपा (माओबादी केन्द्र) ले ढकाललाई आफ्नो भागमा परेको उक्त प्रदेश सभा एमालेका लामिछानेलाई छाड्न निर्देशन दिएको थियो । चुनावी प्रचारमा ढकाल नभएपनि उनलाई करिब ८ सय गठबन्धनप्रति असन्तुष्ट समर्थकको भोट परेको थियो ।प्रदेश सभा सदस्य निर्वाचित लामिछानेको निधनपछि रिक्त यो क्षेत्रमा उपनिर्वाचन हुन लागेको हो ।  

पार्टीको जिल्ला सचिवलाई समेत उम्मेदवार स्वीकार गर्न/गराउन नसक्ने जिल्ला नेतृत्वका कारण नेकपाको भक्तपुर संगठन धरासायी बन्न सक्ने भन्दै कार्यकर्ताहरुले असन्तुष्टी व्यक्त गरेका छन् ।

 

Loading...