उपचारमा गएका बेला गिरफ्तार परेका गुणराज लोहनीलाई १३ दिनपछि गरियो रिहा

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीका पूर्व केन्द्रीय सदस्य गुणराज लोहनी रिहा भएका छन् । १३ दिन अघि चितवन स्थित आफ्नै डेराबाट गिरफ्तार परेका लोहनीलाई जिल्ला प्रशासन कार्यालय चितवनले ५ हजार धरौटीमा आइतबार रिहा गरेको हो ।

रिहा भएपछि सामाजिक सन्जाल फेसबुकमा स्टाटस लेख्दै लोहनीले हजारौँ शहिदहरुको बलिदानबाट प्राप्त गणतन्त्रले आफुलाई फरक राजनैतिक आस्था राखेकै कारण गिरफ्तार गरेको बताएका छन् । स्वास्थ्यमा गम्भीर समस्या उत्पन्न भएपछि लोहनी लामो समयदेखि घरमै आराम गरिरहेका थिए । उनी उपचारमा थिए ।

उनको स्वास्थ्यमा गम्भीर समस्या देखापरेपछि पार्टीले केन्द्रीय समितिको जिम्मेवारीबाट मुक्त गरेको थियो । उक्त कुरा नेकपाले हालै जारी विज्ञप्तिमार्फत जानकारी गराएको थियो । पार्टीको केन्द्रीय समितिबाट अलग गरिएका लोहनीलाई के कति कारणले गिरफ्तार गरिएको हो भन्नेबारे खुलाइएको छैन ।

जनयुद्दकालदेखि नै माओवादीको शिक्षक संगठनको केन्द्रीय अध्यक्ष लगायतका जिम्मेवारी निर्वाह गर्दै आइरहेका लोहनी विप्लव नेतृत्वको नेकपा गठनपछि पार्टीको केन्द्रीय समितिको साथै आन्तरिक प्रकाशन रातो खबरको निर्देशकको भूमिकामा थिए । लोहनी कान्तिपुर लगायतका राष्ट्रिय मिडियामा निरन्तर स्तम्भ पनि लेख्दै आएका छन् । लोहनीलाई १३ दिन पहिला सादा पोसाकमा खटिएका प्रहरीले चितवनबाट पक्राउ गरेको थियो ।

अहिलेसम्म राजधानीमै खुल्ला रहेका लोहनीलाई गिरफ्तार नगर्नु तर पार्टीको केन्द्रीय सदस्यबाट हटाए लगत्तै गिरफ्तार गरिनुलाई पनि अर्थपूर्ण रुपमा लिइएको छ । राजनीतिक निर्देशनमै प्रहरीले गिरफ्तार गरेको हो भन्ने यसले देखाएको छ । उनी लामो समयदेखि मायोस्थेसिया भन्ने रोगबाट पीडित छन् । चितवनमा रहेर लामो समयदेखि उपचार गराइरहेका लोेहनी उपचारका लागि बेलाबेलामा भारतमा पनि गइरहनुपर्ने उनको पारिवारिक स्रोतले जनाएको छ ।