काठमाडाैं । प्रधानमन्त्री केपी ओलीको सुरक्षा टोलीका वरिष्ठ सुरक्षा अधिकारी जुवाखालबाट पक्राउ परेका छन् । नेपाली सेनाका मेजर (सेनानी) राजेन्द्र शाहीलाई प्रहरीले शुक्रबार साँझ जुवा खेलिरहेको अवस्थामा सामाखुसीबाट पक्राउ गरेको हो ।
महानगरीय प्रहरी प्रभाग गोंगबुबाट खटिएको प्रहरी टोलीले सामाखुसीस्थित सोमबहादुर मगरको घरबाट शाहीसहित आठजनालाई पक्राउ गरेको छ । पक्राउ पर्ने अन्यमा घरधनी मगर, रामेछापका बुद्धिलाल मगर, गोरखाका जित गुरुङ र किरणजंग शाह, टोखाका मानकाजी गुरुङ र धर्म शाह तथा सुर्खेतका रिनज राणा छन् ।
उनीहरूको साथबाट एक लाख ५९ हजार तीन सय रुपैयाँ पनि बरामद गरेको छ । पक्राउ परेकाहरूलाई हिरासतमा राखी कारबाही प्रक्रिया अघि बढाइएको महानगरीय प्रहरी वृत्त महाराजगन्जका डिएसपी उमेश लम्सालले बताए । उनीहरू म्यारिज खेलिरहेको अवस्थामा पक्राउ परेको प्रहरीले जनाएको छ ।
प्रधानमन्त्रीको सुरक्षामा लेफ्टिनेन्ट कर्णेल (प्रमुख सेनानी)को नेतृत्वमा सैनिक टोली खटिएको हुन्छ । मेजर शाही शुक्रबार बिदामा थिए । बिदाको वेला उनी सधैँजसो जुवा खेल्ने गरेको अनुसन्धानमा खुलेको छ । शाहीलाई सैनिक प्रहरीलाई बुझाउने प्रहरी तयारी छ । कर्तव्य ज्यान, लागुऔषधलगायत केही गम्भीर किसिमका अपराधबाहेक अन्य अपराधमा संलग्न सैनिकलाई सेनाले नै आन्तरिक कारबाही तथा कैद सजाय गर्ने कानुनी व्यवस्था छ ।