प्रदेश नं १ को राजधानी विराटनगरमा छठ पर्वको रौनक

विराटनगर, १५ कात्तिक । प्रदेश नं १ को राजधानी विराटनगरमा छठपर्वको चहलपहल बढेको पाइएको छ । छठपर्वलाई विशेष बनाउन पूजा गर्ने स्थानमा घाट निर्माण गर्न भक्तालुहरु व्यस्त छन् । विराटनगरमा परापूर्वकालदेखि नै सिङ्गिया नदी र पिछडास्थित नहरमा हजारौँ सङ्ख्यामा भक्तालुहरुले आकर्षक घाट निर्माण गरेर पूजापाठ गर्ने गर्दछन् । सूर्यको आराधना गरी मनाइने यो पर्वले मानव जीवन र प्रकृतिसँग पनि सम्बन्ध राख्दछ ।

पहिलो दिन व्रतालुहरुले नहायखाय गरी छठ पूजाको विधि शुरु गर्छन् । दोस्रो दिन खरना, तेस्रो दिन अस्ताउँदो सूर्यको पूजा तथा अघ्र्य चढाउने र चौथो दिन पनि उदाउँदो सूर्यको पूजासँगै अघ्र्य चढाएर समापन गरिने यो पर्वमा नदी, तलाउ तथा पानीको मुहानमा गएर पूजा गर्नुको पनि खास अर्थ रहने गर्दछ ।

छठ पूजाका लागि भक्तालुहरुले चाहिने सामग्री घ्यू, चिनी, नारिवल, उखु, पिठो, बाँसबाट बनेका कनिया, ढकिया खरीद गर्न व्यस्त देखिएका छन् । आज साँझमा भक्तालुहरुले खीर खाएर एकै पटक आइतबार उदाउँदो सूर्यको पूजा गरेर मात्र खाने परम्परा छ । विगतमा मधेशी समुदायले मात्र मान्ने छठ अहिले सबैले मान्ने गरेको स्थानीय युवा दिनेश साहले बताए ।

Loading...