सुर्खेत, १० कात्तिक । जिल्ला प्रहरी कार्यालय सुर्खेतले ८२ हजारसहित छ जना जुवाडे पक्राउ गरेको छ ।
प्रहरीले बीरेन्द्रनगर नगरपालिका–२ खोली गाउँस्थित लक्ष्मीराज केसीको कुखुराको फार्ममा जुवातास खेलिरहेको अवस्थामा शनिबार पक्राउ गरेको हो ।
केसीको खाली कुखुरा फार्ममा जुवातास खेलिरहेको भन्ने विशेष सूचनाका आधारमा त्यहाँ पुगेको प्रहरीले छ जना जुवाडेलाई पक्राउ गरी रु ८१ हजार ८९५ बरामद गरेको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रहरी प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक रवि रावलले जानकारी दिए ।
बीरेन्द्रनगर नगरपालिका– ९ बस्ने ४२ वर्षीय गोपाल गुरुङ, ३८ वर्षीय सरोज बस्नेत, ४१ वर्षीय राजन गिरी, ३७ वर्षीय मनोज पन्त, २९ वर्षीय नानुसिंह ठकुरी र सोही नगरपालिका– ६ सुर्खेतका ४८ वर्षीय मुकुन्द मानन्धरलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
दिपावलीलाई सभ्य र सुरक्षितरुपले मनाउन ९ बजेसम्म मात्र देउसी भैलो खेल्न, जुवातास तथा लङ्गुर बुर्जा नखेल्न, मादक पदार्थ सेवन नगर्न, जबर्जस्ती रकम नअसुल्न र कानूनद्वारा बर्जित काम नगर्न पनि प्रहरीले सार्वजनिकरुपमा सूचना प्रवाह गरेको छ ।