रोल्पाका शनि विश्वकर्माले पहिलो लोकस्टार बनेर जिते ५० लाख पुरस्कार

काठमाडौँ, ८ कार्तिक । रोल्पाका शनि विश्वकर्मा ‘नेपाल लोक स्टार’ को पहिलो विजेता बनेका छन् । शुक्रबार साँझ काठमाडौंको भृकुटीमण्डपस्थित खुला मैदानमा शुक्रबार आयोजित फाइनलमा शनिलाई पहिलो लोकस्टार घोषणा गरिएको हो ।

लोकगीतका क्षेत्रमा अहिलेसम्मकै ठूलो पुरस्कार राशीको रियालिटी शोको टाइटल शनिले जितेका हुन् । यस शो का सबैभन्दा कान्छा प्रतिस्पर्धी रहेका शनिले ५० लाख पुरस्कार पाउनुका साथै २५ लाखको जीवन विमा पनि पाएका छन् । फाइनलमा उनले ‘अमिलो रसैले…’ बोलको गीत गाएका थिए ।

यस रियालिटी शोमा स्याङ्जाका चेतन गोतामे लोकस्टारको दोस्रो बन्न सफल भएका छन् । उनले २५ लाख रुपैयाँको पुरस्कार र १५ लाख बराबरको जीवन बीमा पाउन सफल भए ।

त्यसैगरी उदयपुरका विनोद दनुवारले तेस्रो स्थान हात ओगटेका छन् । उनले १० लाख रुपैयाँ नगद पुरस्कारका साथै १० लाख रुपैयाँ बराबरकै जीवन बीमा हात पारे ।

त्यस्तै रामेछापका रामकुमार नेपालीले सान्त्वना स्थान हासिल गरे । उनले लिटमस इलोक्ट्रोफाइन परफरमर अफ द सिजन अवार्डसहित दुई लाख नगद प्राप्त गरे ।

असार १२ गते सुरु भएको लोकस्टार कार्यक्रम भृकुटीमण्डपबाट ३६औं शृंखला प्रत्यक्ष प्रसारण गर्दै सम्पन्न भएको हो । चाहना मिडिया प्रालिले आयोजना गरेको नेपाल लोकस्टार नेपाली लोकसंगीतको इतिहासमा अहिलेसम्मकै धेरै पुरस्कार राशिको सांगीतिक कार्यक्रम बनेको छ । देशभरका विभिन्न ठाउँमा भएको अडिसनबाट लोकस्टारमा उत्कृष्ट छनोट भएका थिए। कार्यक्रममा विभिन्न जिल्लाका स्थानीय लोकसंगीतदेखि आधुनिक गीत र राष्ट्रिय गीतले स्थान पाएको थियो । उत्कृष्टमा छानिएकाले मधेसको भोजपुरी र सुदूरपश्चिमको देउडा गीत पनि गाएका थिए ।

सुनिता दुलाल, जयनन्द लामा, बीबी अनुरागी र रामजी खाँडले यस रियोलिटी शो को निर्णायकको भूमिका निर्वाह गरेका थिए ।

Loading...