वार्षिक पुन्य तिथिमा पद्मरत्नलाइ यसरी सम्झिए उनका सहकर्मीले

काठमाडौं, ८ कार्तिक । वामपन्थी राजनीतिज्ञ तथा मानवअधिकारकर्मी पद्मरत्न तुलाधरको वार्षिक पुन्य तिथिमा पद्मरत्न लुमन्ति गुठीले शुक्रबार स्मरण सभा गरेको छ ।

तुलाधरको स्मृतिमा आयोजना गरिएको स्मरण सभामा पद्मरत्न लुमन्ती दबूका अध्यक्ष पूवमन्त्री डा. केशव मान शाक्य, प्रतिनिधि तथा प्रदेश सभा सांसद कृष्ण गोपाल श्रेष्ठ, जीवनराम श्रेष्ठ, राजेश शाक्य, भाषा सेवी नरेश वीर शाक्य लगायतले तुलाधरले गरेको योगदानको चर्चा गरे ।

सभामा सांसद कृष्णगोपाल श्रेष्ठले निर्दलीय पञ्चायती ब्यवस्थामा भूमिगत अवस्था भित्र बाम आन्दोलनमा पदमरत्न सँगै गरेका संघर्षका क्षणहरु सम्झिए । उनले स्वर्गीय तुलाधरका योगदानहरुलाई विभिन्न रुपमा ब्याख्या गरे ।

बि.सं. २०४३ सालको राष्ट्रिय पंचायतको चुनावमा लडेर अत्यधिक बहुमतले चुनाव जितेका तुलाधर निर्दलीय राष्ट्रिय पंचायतको बैठकमा बहुदलीय प्रजातान्त्रको माग गरेका थिए । जनआन्दोलन २०४६ मा सम्पूर्ण बामपन्थी पार्टीहरूलाई समेटेर बाम मोर्चा निर्माण गर्न र नेपाली कांग्रेसले सुरू गरेको आन्दोलनमा बाम मोर्चा सहभागी गराई संयुक्त आन्दोलन गराउन यिनको नेतृत्त्वदायी भूमिका रहेको थियो।

२०३६ सालको विद्यार्थी आन्दोलनदेखि नै वाम राजनीतिमा लागेका तुलाधर नेपाली इतिहासमा निरञ्कुश राजनीति परिवर्तन गर्न बाम आन्दोलनकारीको प्रमुख भएर जातीय तथा भाषिक अधिकारको समेत आन्दोलनमा आफ्नो जीवन समर्पण गरेका थिए ।

सभामा तुलाधरका सुपुत्री सुम्निमा तुलाधरले आफ्ना पिताले देखाएको दर्शनलाइ मार्गदर्शनको रुपमा लिनु पर्ने बताउदै आफ्नो बुबाले थालिनी गरेको आदिवासी जनजाति आन्दोलन, मातृभाषा आन्दोलन लगायत मौलिक अधिकार लगायतका अनगिन्ति आन्दोलन अझै अधुरो रहेको र यसलाई निरन्तरता दिनी पर्ने बताईन् ।

पदमरत्न तुलाधरको मस्तिष्कघातको कारण २०७५ कार्तिक १८ काठमाडौंमा निधन भएको थियो ।