भीमदत्तनगर, ७ कात्तिक । जडीबुटी खेतीबाट मनग्य आम्दानी हुने थालेपछि व्यावसायिक रुपमा आबद्ध किसानहरु उत्पादन भएको तेल बिक्री नहुँदा निराश छन् । कञ्चनपुरका विभिन्न स्थानीय तहका किसानहरु नगदे आम्दानी हुन थालेपछि जडीबुटी खेतीतर्फ आकर्षित हुन थालेको भए पनि समयमा उत्पादन भएको तेल बिक्री नभएको स्थानीयको दुखेसो छ ।
“अघिल्ला वर्षहरुमा दशैँ, तिहार अगाडि नै तेल खरीदका लागि गाउँमै आउँथे ।” यहाँको बेदकोट नगरपालिकाको जडीबुटी समूहकी अध्यक्ष पाना बोहराले भने, “अहिले दोहो¥याएर खेती गर्ने बेला पनि क्यामामाइलको तेल बिक्री भएन ।” उनले क्यामामाइल नामक जडीबुटीको तेल प्रतिलिटर रु ५५ हजारदेखि रु ६० हजारसम्म बिक्री हुने गरेको बताए ।
बेदको नगरपालिका–६ धरमपुरका ४० जनाभन्दा बढी किसानले उत्पादन गरेको जडीबुटीको तेल बिक्री नभएको बोहराको भनाइ छ । त्यसैगरी धरपुरकै किसान धनबहादुर बोहराले तीन बिघामा क्यामामाइल खेती गरेको बताए । “अन्न खेतीबाट जडीबुटीमा लागें” बोहराले भने, “उत्पादन गरेको तेल धन्किदा गुजारा चलाउन मुश्किल पर्ला जस्तो छ ।”
उनले दुई बिघा जमीन भाडामा लिएर जडीबुटी खेती गरिरहेको बताए ।यहाँका किसानहरु बिगत नौ वर्षदेखि जडीबुटीको खेती गरिरहेका छन् । “गाउँमा तेलमा दलाली गर्नेहरु आएपनि तेल खरीद गर्ने व्यापारी भने आएका छैनन् ।” बोहराले भने, “तेलमा कमिसन खान खोज्नेहरु सक्रिय छन् ।”
यहाँका नौ वटै स्थानीय तह र विभिन्न सामुदायिक वन गरी दुई हजार ५३० कठ्ठामा क्यामामाइल खेती हुँदै आएको तथ्याङ्कमा देखिन्छ । उत्पादित जडिबुटीको तेल कस्मेटिक सामग्री र औषधिमा प्रयोग हुने गरेको छ । नेपाल जडीबुटी व्यवसायी सङ्घ कञ्चनपुरका अध्यक्ष श्यामराज भट्टले भारतलगायत तेस्रो मुलुकमा निर्यात हुने गरेको बताए ।
“यहाँका भन्सार नाकाबाट बढी निर्यात हुने नै क्यामामाइलको तेल हो”, उनले भने, “तर अहिले भारतीय बजारहरुमा पनि यसको माग घट्दो अवस्थामा छ ।” यहाँका जडीबुटी खेतीमा जिल्लाभरि ५०० भन्दा बढी किसान आबद्ध छन् ।