बागलुङ, ३ कात्तिक । पर्यावरण जोगाउन र पर्यटकीय आकर्षण बढाउन जिल्लामा सात हरियाली उद्यान निर्माण गरिएको छ । गण्डकी प्रदेश सरकारको ‘शहरी वन प्रवद्र्धन तथा उद्यान निर्माण’ योजनाअन्तर्गत बागलुङ नगरपालिका–६ स्थित विश्व शान्ति सर्वसिद्धिधाम पञ्चकोट, वडा नं १३ अमलाचौर, वडा नं १ स्थित कालिका भगवती मन्दिर, वडा नं १२स्थित पै्युँपाटाको डुङ्गाचौर सामुदायिक वन र वडा न। १४ को कैयाचौर सामुदायिक वनमा सो उद्यान बनाइएको हो ।
यस्तै गलकोट नगरपालिका–७ मल्मस्थित पर्यटकीयस्थल राम्चेढुङ्गा र ३ हटिया, सहस्रधारामा पनि उद्यान बनाइएको छ । उद्यान निर्माणका लागि डिभिजन वन कार्यालयले झण्डै रु एक करोड लगानी गरेको थियो ।“एउटा उद्यानका लागि कम्तीमा रु नौ लाखदेखि बढीमा २२ लाखसम्म खर्च भएको छ”, कार्यालयकी अधिकृत सीता शर्माले भने । पञ्चकोटमा बनेको हनुमान बाटिकामा सबैभन्दा बढी रु २१ लाख ९९ हजार खर्च भएको थियो ।
अघिल्लो आवमा सम्झौताअनुसारको काम सकिएको र चालू आवका लागि कार्यक्रम आइनसकेको उल्लेख गर्दै उनले बजेट र कार्यक्रम आएमा थप नयाँ ठाउँमा पनि उद्यान निर्माणको काम अघि बढाइने जानकारी दिए । गण्डकी प्रदेशको उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयले शहर वरिपरिका खाली एवं पाखो जग्गालाई हरियाली क्षेत्रका रूपमा विकास गर्न वन प्रवद्र्धन तथा उद्यान निर्माण कार्यक्रम ल्याएको थियो ।
ती उद्यानलाई मनोरञ्जनस्थलको रूपमा विकास गर्ने र स्थानीयवासीको आयआर्जनमा समेत पनि टेवा पु¥याउने सो आयोजनाको लक्ष्य छ । गलकोट, मल्मस्थित राम्चेढुङ्गामा आठ रोपनी जग्गामा उद्यान बनाइएको उपभोक्ता समितिका अध्यक्ष विष्णु थापाले बताए । उद्यान निर्माणमा प्रदेश सरकारको रु १२ लाख र पाँच लाख बराबरको जनश्रमदान गरी रु १८ लाख खर्च भएको उनको भनाइ थियो । उद्यानस्थलमा प्रवेशद्धार, पदमार्ग, शौचालय, बिरुवा रोपण, टिकट बिक्री कक्षलगायत संरचना बनाइएको छ ।
उद्यानको सबै काम सक्न बजेट, कार्यक्रम थप हुनुपर्ने अध्यक्ष थापाले बताए । स्थानीय जनहित माविको नाममा रहेको जग्गामा निर्माण गरिएको उद्यानबाट आउने आम्दानी आधा विद्यालयले पाउने सहमति छ । राम्चेढुङ्गामा प्याराग्लाइडिङ र सहस्रधारामा रहेको झरनामा छाँगावरोहण क्यानोनिङ को सफल परीक्षणसमेत भइसकेको छ । सहस्रधारामा पनि पदमार्ग, पोखरी निर्माण, शौचालय, बगैँचा, बिरुवा रोपणलगायत काम गरिएको वडा नं ३ का अध्यक्ष वीरजङ्ग भण्डारीले बताए । सहस्रधारा क्षेत्र ढाडाको पाखा सामुदायिक वन क्षेत्रमा पर्छ ।