काठमाडौँ, २६ असोज । राष्ट्रपति विद्यादेवी भण्डारीको मैत्रीपूर्ण निमन्त्रणमा चीनका राष्ट्रपति सी चिनफिङको दुई दिवसीय राजकीय भ्रमण चौधबुँदे संयुक्त वक्तव्य जारी गर्दै सम्पन्न भएको छ । राष्ट्रपति सी आजै चीन प्रस्थान गरेका छन् ।
भ्रमणका क्रममा राष्ट्रपति सीले आफ्ना नेपाली समकक्षी भण्डारीसँग भेटवर्ता गर्नुका साथै प्रधानमन्त्री केपी शर्मा ओलीसँग वार्ता गरेको परराष्ट्र मन्त्रालयले आज जारी गरेको संयुक्त वक्तव्यमा उल्लेख छ ।
त्यसैगरी चिनियाँ विशिष्ट पाहुनाको सम्मानमा राष्ट्रपति भण्डारीका तर्फबाट राजकीय भोज आयोजना गरिएको थियो । न्यानो एवं हार्दिकतापूर्ण वातावरणमा दुई देशका नेतृत्वबीच द्विपक्षीय सम्बन्धका साथै क्षेत्रीय र अन्तर्राष्ट्रिय साझा चासोका विषयमा गहनरुपमा विचार आदानप्रदान भएको थियो ।
सीको स्वागत र विदाइका क्रममा विभिन्न ठाउँमा सर्वसाधारण जनता, राष्ट्रसेवक कर्मचारी, विभिन्न मैत्री संस्थाहरुले सांस्कृतिक झाँकीहरु समेत प्रदर्शन गरेका थिए ।