सभामुख महराले दिए राजीनामा

काठमाडौं, १४ असोज। यौन दुराचारको गम्भीर आरोप लागेपछि सभामुख कृष्णबहादुर महराले सभामुख पदबाट राजीनामा दिएका छन् । मंगलवार दिउसो उनले पदबाट राजीनामा दिएका हुन् ।

उपसभामुखसमक्ष उनले राजीनामा पत्र पठाएका हुन् । पत्रमा ‘छानविन प्रक्रिया नसकिदा सम्मका लागि’ राजिनामा दिएको उल्लेख गरिएको छ । छानविनका लागि अनुसन्धान गर्न सहज होस् भनि आफूले राजीनामा दिएको पत्रमा भनिएको छ ।

मंगलवार बसेको सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टीको सचिवालय बैठकले महरालाई पदबाट राजिनामा दिन आग्रह गरेको थियो । आइतवार राती मदिराले लठ्ठीएका महराले आफूलाई जबर्जस्ती करणी गरेको भन्दै एक महिला कर्मचारीले आरोप लगाएकी छिन ।

काठमाडौको तिनकुनेस्थित उनकै डेरामा गएर आइतवार राती सभामुख महराले जवर्जस्ती करणी गरेको उनको आरोप रहेको छ । उनले आफ्नो करीब ३० वर्षदेखि सभामुख महरासंग चिनजान भएको तर आइतवार जवर्जस्ती करणी गरेपछि बाध्य भएर उनीविरुद्ध बोल्नु परेको एक अनलाइनलाई अन्तर्वार्ता दिंदै भनेकी छिन् ।

सभामुख महराको सचिवालयले भने जवर्जस्ती करणीको आरोप निराधार भएको भनेकाे छ । उनका प्रेस सल्लाहकार डिल्ली मल्लले विज्ञप्ति जारी गर्दै आरोपको खण्डन गरेका छन् ।

बिज्ञप्तिमा भनिएको छ – ”यो प्रकरणबाट जुन किसिमले सभामुखज्यूको राजनीतिक उचाई, व्यक्तित्व र प्रतिष्ठालाई सिध्याउने षड्यन्त्र भएको छ, यो निकै सुनियोजित र योजनाबद्ध रुपमा भइरहेको छ । यो जहाँबाट भयो÷भइरहेको छ, यो कुनै पनि किसिमले क्षम्य हुन सक्दैन । उहाँको राजनीतिक व्यक्तित्व र छविलाई अरु कुनै पनि हतियारबाट गलाउन नसकेपछि एउटा ‘कठपुतली’ तयार गरी जसरी सामाजिक रुपमा बदनाम गर्न दुस्प्रयास गरिएको छ, यसको जति कडा शब्दमा भत्र्सना गरे पनि कम हुन्छ । सभामुखज्यूलाई लगाइएको निराधार र कपोलकल्पित आरोपप्रति कडा आपत्ति जनाउँदै त्यसमा कुनै पनि सत्यता नभएकोले भ्रममा नपर्न सबैमा पुनः विनम्र अनुरोध गर्दछु ।”

Loading...