गरिमा धानमा बाला लाग्न शुरु

चितवन, १४ असोज । जिल्लामा लगाइएको आयातित गरिमा जातको वर्णशङ्कर धानमा बाला लाग्न थालेको छ । बाहिर आइनसके पनि भित्री भागमा बाला देखिन थालेको हो । बीउ खरीद गर्दा भनिएको समयमा धानमा बाला नलागेपछि किसानले सरोकारवालाको ध्यानाकर्षण गराएका थिए ।

यससँगै राष्ट्रिय धानबाली अनुसन्धान कार्यक्रम हर्दिनाथका धान संयोजक वरिष्ठ वैज्ञानिक डा रामवरण यादव नेतृत्वको प्राविधिक समूहले जिल्लामा स्थलगत अध्ययन गरी सोमबार प्रतिवेदनसमेत बुझाएको छ । कृषि ज्ञान केन्द्र चितवनका प्रमुख राजन ढकालका अनुसार धानमा बालाको भित्री चरण देखिएको छ । यसलाई वैज्ञानीकले ‘प्रिमोडिया’ भन्ने गर्दछन् । क्रमश बाला बाहिर आउने उनले बताए ।

बिक्री गर्नेले फरक जातको गरेको हुनसक्ने भन्दै शुरुमा दर्ता गर्दा ल्याइएको गरिमाको बीउ र हाल रोपिएको बीउको ‘डिएनए फिङ्गरप्रिन्ट’ लिने काम भइरहेको छ । बीउविज्ञान तथा प्रविधि महाशाखा खुमलटारमा परीक्षण गर्ने काम भइरहेको वरिष्ठ वैज्ञानिक यादवले बताए । दुबै धानलाई उमारेर परीक्षण गर्ने गरिन्छ ।

धान ढिला पाक्ने भएपछि उत्पादन घट्ने र यसपछिको बाली प्रभावित हुने ज्ञान केन्द्रका प्रमुख ढकालको भनाइ छ । जिल्लामा धानपछि तरकारीखेतीसँगै गहुँ, राजमा र तोरी लगाउने गरिन्छ । ती सबै बाली प्रभावित हुने भएको छ । सरकारले प्रतिवेदन पाइसकेकाले डिएनए प्रतिवेदनआएसँगै बीउ बिक्री गर्ने कम्पनीलाई के कस्तो कारवाही हुने भन्ने विषयमा टुङ्गो लाग्ने ढकालको भनाइ छ । किसानले क्षतिपूर्तिको माग गरेका छन् ।

करीब १५ देखि २० दिनमा बाला देख्न सकिने उनले बताए । धान पाक्न अझै दुई महिना लाग्ने छ । वर्णशङ्कर गरिमा जात १३५ दिनमा पाक्ने भए पनि अहिलेको अवस्था हेर्दा धान पाक्न १६० दिन हाराहारी लाग्ने वरिष्ठ वैज्ञानिक यादवले बताए ।

धानको बीउ नेपालमा सनराईज एग्रिकल्चर रिसर्च सेन्टर दाङ्ले भित्र्याएको हो । गरिमालगायत देशका सबै स्थानमा यही समस्या देखिएको छ । जिल्लामा करीब एक हजार ३०० बिघाहामा यो धान लगाइएको अनुमान छ जसवाट पाँच हजार हाराहारी कृषक प्रभावित भएका छन् । इच्छाकामना गाउँपालिका बाहेक सबै स्थानमा यो धान लगाइएको छ ।

गरिमा जातको यो धान विसं २०७२मा सूचिकृत भएको हो । गरिमा भारतीय उत्पादन हो । यसको जातीय गुण अनुसार ९० देखि ९५ दिनभित्र ५० प्रतिशत फूल खेलिसक्नुपर्छ । तर, त्यसो हुन नसकेपछि किसान अन्योलमा परेका छन् । जिल्लामा गरिमा, गोरखनाथ, यूएस ३१२ जातका आयातित वर्णशङ्कर र स्थानीय उन्नत जातका सावित्री, रामधान, सावामन्सुली धान बढी क्षेत्रफलमा किसानले लगाउने गरेका छन् ।