नवलपरासी, १४ असोज । पश्चिम नवलपरासीको बर्दघाट नगरपालिका–१४ धर्म बस्तीमा खानेपानी आयोजनाको निर्माण कार्य सम्पन्न भएपछि स्थानयीवासीले शुद्ध खानेपानी पिउन पाएका छन् । विसं २०६५ बाट निर्माण शुरु भएको सो आयोजना दुई महीना अघि सकिएको हो ।
सङ्घीय सरकारको रु दुई करोड ८४ लाख, साविकको खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय नवलपरासीबाट रु ३५ लाख र पाइपलाइन विस्तारका लागि बर्दघाट नगरपालिको रु छ लाखको लगानीमा सो आयोजनाको निर्माण सम्पन्न भएको दाउन्नेदेवी खानेपानी समितिका सचिव दुर्गा चौधरीले बताए ।
आयोजनाबाट बर्दघाट नगरपालिका–१४ धर्मबस्ती, गङ्गाबस्ती, सूर्यनगर, शीतल बस्तीलगायतका स्थानीयवासीले शुद्ध खानेपानी पिउन पाएका छन् । साविक दाउन्नेदेवी गाउँ विकास समितिका वडाअन्तर्गत हाल बर्दघाट नगरपालिका–१४ का करीब एक हजार २०० घरधुरीलाई शुद्ध पानी वितरण गरिने योजना रहेको समितिका अध्यक्ष सूर्य आलेले जानकारी दिए।
अहिलेका लागि दुई लाख २५ हजार लिटर क्षमता भएको ट्याङ्की निर्माण गरिएको र अपुग भएमा बोरिङमार्फत पानी रिजर्भ र फिल्टर गरी जनसमुदायलाई शुद्ध पिउने पानी वितरण गरिने योजना बनाइएको समितिले जनाएको छ ।
झोलङ्गे पुल निर्माण कार्य अन्तिम चरणमा
पश्चिम नवलपरासीको बर्दघाट नगरपालिका–७ तल्लेबेलहानी र वडा नं १४ डेढ नम्बर जोड्ने खजुरा खोलामा निर्माणाधीन झोलुङ्गे पुलको निर्माण कार्य अन्तिम चरणमा पुगेको छ । बर्दघाट नगरपालिका–१४ र खजुरा खोला पारी रहेको वडा नं ७ तल्लो बेलहानी जोड्ने गरी निर्माणाधीन झोलुङ्गे पुलको निर्माण कार्य अन्तिम चरणमा पुगेको वडा नं १४ का अध्यक्ष केशव खत्रीले जानकारी दिए ।
सङ्घीय सरकारको करीब रु एक करोडको लागतमा झोलुङ्गे पुल निर्माण कार्य भइरहेको छ । पुलको लम्बाइ १२१ मिटर र चौडाइ साढे एक मिटर रहेको पुल निर्माणको जिम्मा लिएका बिएलटी कन्स्ट्रक्सनले जनाएको छ । पुल निर्माणको समय अवधि १८ महीनाको रहे पनि स्थानीयस्तरबाट सबैको सहयोगका कारण करीब छ महीनाभित्रै निर्माण सकिने लक्ष्य लिएको निर्माण कम्पनीका प्राविधिक क्याम्प थापाले जानकारी दिए ।