विपन्न नागरिक कोषबाट २३७ बिरामी लाभान्वित

तम्घास, १४ असोज । सरकारले सञ्चालन गरेको विपन्न नागरिक कोषबाट जिल्लाका २३७ बिरामी लाभान्वित भएका छन् । तीमध्ये सबैभन्दा धेरै मुटु र अर्बुदरोगका बिरामी छन् । गत आर्थिक वर्षको शुरुदेखि हालसम्म मुटुरोगका ९५ र अर्बुद रोगका ८३ गरी कूल १७८ बिरामी छन् । त्यो कूल सङ्ख्याको ७५।१० प्रतिशत हो । सो सध्ये पनि मुटुरोगतर्फ ४८ महिला र ४७ पुरुष तथा अर्बुदरोगका ५० महिला र ३३ पुरुषले सेवा पाएका छन् ।

विपन्न नागरिकको स्वास्थ्य सेवालाई मध्यनजर गर्दै सरकारले २०६८ बाट विपन्न नागरिक सहायता कोष सञ्चालन गरेको थियो । विपन्न नागरिकको स्वास्थ्य सेवा पाउने अधिकार सुनिश्चित गर्न सरकारले उक्त कोष सञ्चालन गर्ने निर्णय गरेको थियो । उक्त कोषबाट गुल्मीका नागरिकले हालसम्म रु दुई करोड ३५ लाखको सेवा निःशुल्क प्राप्त गरेका छन् ।

सबैभन्दा धेरै धुर्कोट गाउँपालिकाका बिरामी छन् । धुर्कोटमा नौ महिला र सात पुरुष गरी १६ मुटुरोगी र छ महिला तीन पुरुष गरी नौ अर्बुदरोग पीडित भेटिएका छन् । रेसुङ्गा नगरपालिकाका कूल ३३ बिरामीले सेवा पाएका छन् । ती मध्ये आठ महिला र पाँच पुरुष गरी १३ मुटुरोगी र नौ महिला तथा तीन पुरुष गरी १२ अर्बुदरोग लागेका बिरामीले नागरिक सहायता कोषको सेवाका लागि सिफारिश प्रदान गरिएको छ ।

इस्मा गाउँपालिकाबाट सेवा लिएका १२ मध्ये मुटुरोगी र अर्बुदरोग लागेका चार–चार जना छन् । सोमध्ये तीन महिला र एक पुरुषमा मुटुको समस्या देखिएको छ भने दुई/दुई महिला, पुरुषमा अर्बुद्धरोगको समस्या देखिएको छ । मुसिकोट नगरपालिकाबाट पाँच महिला र सात पुरुष गरी १२ मुटुरोगी तथा आठ महिला र चार पुरुष गरी १२ को अर्बुदरोगको उपचारका लागि सिफारिश प्रदान गरिएको छ । गत आर्थिक वर्षको शुरुदेखि हालसम्म नगरपालिकाका कूल २६ नागरिक लाभान्वित भएका छन् ।

मदाने गाउँपालिकाका पाँच जनाले मात्रै सो सेवा प्राप्त गरेका छन् । त्यसमध्ये तीन पुरुष मुटुरोगीका बिरामी छन् । छत्रकोट गाउँपालिकाका १२ ले विपन्न नागरिक नागरिक कोषबाट उपचार गराएका छन् । सोमध्ये चार महिला र तीन पुरुष गरी सात मुटुरोगी तथा दुई महिला र तीन पुरुष गरी पाँच अर्बुदरोगपीडितले औषधि गराएको स्वास्थ्य शाखा संयोजक पुण्य गौतमले जानकारी दिए ।

रुरु गाउँपालिकाबाट तीन महिला र एक पुरुष गरी चारले मुटुरोग तथा सात महिला र छ पुरुष गरी १३ लाई अर्बुदरोगको उपचारका लागि सिफारिश प्रदान गरिएको छ । चन्द्रकोट गाउँपालिकाका ११ ले विपन्न नागरिक सहायता कोषबाट उपचार गराएका छन् । तीमध्ये तीन महिला र दुई पुरुष गरी पाँच मुटुरोग तथा तीन महिला र एक पुरुष गरी चारले अर्बुदरोगको निदानका लागि सिफारिश बनाएको गाउँपालिकाले जनाएको छ ।

गुल्मीदरबार गाउँपालिकाका कूल २९ ले सेवा पाएका छन् । पाँच पुरुष र चार महिला गरी नौ मुटुरोगी तथा तीन पुरुष र चार महिला गरी सातले अर्बुद रोगीले सेवा पाएको गाउँपालिकाका स्वास्थ्य संयोजक नारायण अर्यालले जानकारी दिए । कालिगण्डकी गाउँपालिकाका तीन महिलाले मुटुरोगसम्बन्धी तथा महिला/पुरुष  एक/एकलगायत कूल नौले विपन्न नागरिक कोषको सेवा पाएको गाउँपालिकाको स्वास्थ्य शाखाले जनाएको छ ।
सत्यवती गाउँपालिकाका कूल ३१ बिरामीले सो कोषबाट सेवा पाएका छन् । तीमध्ये महिला चार र पुरुष नौ गरी १३ मुटुरोगी तथा महिला चार र पुरुष छ गरी १० अर्बुदरोगपीडित छन् । मालिका गाउँपालिकाका ११ ले सेवा पाएका छन् । जसमध्ये दुई महिला र चार पुरुष गरी छ मुटुरोगी तथा चार महिला एक पुरुष गरी पाँच अर्बुदरोगपीडित बिरामीले सेवा पाएको गाउँपालिकाका स्वास्थ्य संयोजक वसन्तराज भुसालले जानकारी दिए ।

गुल्मी अस्पतालका निमित्त प्रमुख डा उत्तम पच्याले स्वास्थ्यमा ख्याल गरे मुटु र अर्बुदरोगबाट बच्न सकिने बताए । नियमित शारीरिक व्यायाम, मोटोपन घटाउने, पोषिलो खाना खाने, चिल्लो र नुन कम खानेलगायतका उपाय अपनाए अर्बुदरोग र मुटुरोगबाट बच्न सकिने उनले सुझाव दिए । त्यसका साथै स्वास्थ्यमा अनियमित तरिकाले कुनै समस्या आउनेबित्तिकै नजिकैको स्वास्थ्य संस्थामा जाँच गराउनुपर्ने उनले बताए ।

Loading...