सवारी साधनलाई जनचेतनामूलक सामग्री

काठमाडौँ, ९ असोज । संस्कार समाज नेपालले यात्रुलाई सुरक्षित यात्राका लागि एक हजार सवारी साधनमा जनचेतनामूलक सामग्री सहितको पेनड्राइभ वितरण गरेको छ । ‘असल संस्कार सिकौँ सिकाऔँ’, आफ्नो देश आफैँ बनाऔँ’ भन्ने मूल लक्ष्यसहित स्थापना भएको संस्कार समाज नेपालले महानगरीय ट्राफिक प्रहरी महाशाखा र नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घको सहकार्यमा एक हजार थान पेनड्राइभ वितरण गरिएको हो ।

संस्कार समाज नेपालका अध्यक्ष पशुपति गुरुङ विगतका वर्षमा सुरक्षित यात्राका लागि पर्चा, पम्प्लेट वितरण गरे पनि अभियानले सार्थकता नलिएकाले अहिले पेनड्राइभमार्फत जनचेतनामूलक कार्यक्रम प्रसारण गरेको बताए । अहिले नयाँ बसपार्कबाट छुट्ने एक हजार सवारी साधनलाई पेनड्राइभ वितरण गरिए पनि आगामी दिनमा देशैभरि उक्त अभियान लैजाने उनको भनाइ थियो ।

समाजले यसअघि उपत्यकाका विभिन्न स्थानमा ट्राफिक जनचेतनामूलक होर्डिङ बोर्ड, हरेक हप्ता सरसफाइ, विद्यालयमा असल संस्कारसम्बन्धी कक्षा सञ्चालन र अनाथ तथा असहायलाई सहयोग गर्दै आइरहेको छ । दशैँ लागेसँगै नयाँ बसपार्कमा दैनिकजसो यात्रुको भीड लाग्ने गरेको छ । दैनिक दुई हजारभन्दा बढी बस नयाँ बसपार्कबाट मुलुकका विभिन्न स्थानमा जाने भएकाले उक्त क्षेत्रमा भीड लाग्ने गरेको छ ।

पेनड्राइभमा क्रमबद्धरुपमा सवारी साधनमा उक्लने र ओर्लने बानी बसालौँ, झ्यालबाट जथाभावी टाउको, हात ननिकालौँ, यात्राका क्रममा मद्यपान, धुम्रपानको प्रयोग नगरौँ, फोहर डस्बिनमा मात्र हालौँ, अपरिचित व्यक्तिले दिएको खानेकुरा नखाऔँ, अनाथ, असहाय र ज्येष्ठ नागरिकलाई महत्व दिऔँलगायतका जनचेतनामूलक सामग्रीमा राखिएका छन् ।

नयाँ बसपार्क सञ्चालनको जिम्मा लिएको ल्होत्से बहुद्देश्यीय प्रालिका अध्यक्ष इञ्जिनीयर दीपक कुँवर अभियानले चालक, सहचालक र यात्रुलाई सचेत बनाउने हुँदा दुर्घटनामा समेत कमी आउने बताए । चाडपर्वका बेला सुरक्षित यात्रामा अभियानले सहयोग पुग्ने उनको भनाइ थियो ।

यातायात व्यवस्था विभाग, महानगरीय ट्राफिक प्रहरी महाशाखा र यातायात व्यवसायीको संयुक्त पहलमा नयाँ बसपार्कमा यात्रु सहायता कक्षसमेत सञ्चालनमा ल्याइसकिएको छ । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घका महासचिव सरोज सिटौला यात्रुको समस्या समाधानका लागि यात्रु सहायता कक्ष सञ्चालनमा ल्याएको बताए । यात्रु सहायता कक्ष स्थापनासँगै कहाँ जाने भाडा कति भन्ने स्पष्ट हुने भएकाले यात्रु नठगिने उनको भनाइ छ ।

महानगरीय ट्राफिक प्रहरीवृत्त नयाँ बसपार्कका प्रमुख, प्रहरी निरीक्षक मुनेन्द्र थापा दशैँमा यात्रुलाई सुरक्षित गन्तव्यसम्म पठाउन र टिकटमा हुने कालोबजारी रोक्न ट्राफिक प्रहरी लागिरहेको बताए । दशैँका टिकट काट्ने हरेक काउण्टरको अगाडि भाडासमेत स्पष्टरुपमा लेखेर यात्रुले देख्ने ठाउँमा टाँस्न ट्राफिक प्रहरीले अनुरोध गरेको छ ।

Loading...