शिक्षा र स्वास्थ्यको दायित्व राज्यले लिनुपर्छ : डा भट्टराई

काठमाडौँ, ७ असोज । समाजवादी पार्टी, नेपालका सङ्घीय अध्यक्ष डा बाबुराम भट्टराईले शिक्षा र स्वास्थ्य सबैको अधिकार भएकाले राज्यले पूर्ण दायित्व लिई निःशुल्क गर्नुपर्ने बताएका छन । समाजवादी विद्यार्थी युनियनले आज यहाँ आयोजना गरेको ‘विश्वविद्यालयमा दलीय भागबण्डाको अन्त्य र शिक्षा क्षेत्रको सुधार’ विषयक अन्तरक्रियामा उनले उच्च शिक्षासम्म राज्यले सबै खर्च व्यहोर्नुपर्नेमा जोड दिए ।

अध्यक्ष भट्टराईले नेपालमा घोकन्ते शिक्षा प्रणाली भएकाले गुणस्तरीय शिक्षा हुन नसकेकाले परीक्षा प्रणालीमा सुधार गर्न आवश्यक रहेको बताए । पूर्वप्रधानमन्त्री भट्टराईले विश्वविद्यालयका पदाधिकारी नियुक्त दलीय भागबण्डामा हुने भएकाले त्यसको अन्त्य गरी प्रतिस्पर्धाका आधारमा हुनुपर्ने बताए । उनले विश्वविद्यालय सुधारका लागि पूर्णतया स्वायत्तमा लैजानुपर्ने धारणा राखे ।

कार्यक्रममा प्रदेश नं २ का मुख्यमन्त्री लालबाबु राउतले विश्वविद्यालयमा पदाधिकारी नियुक्त हुने व्यक्ति प्रशासनिक क्षेत्रको हुनुपर्ने बताए । उनले विश्वविद्यालयमा राजनीतिक नभई स्वच्छ प्रतिस्पर्धाबाट नियुक्त गर्नुपर्ने बताए ।

कार्यक्रममा त्रिभुवन विश्वविद्यालयका पूर्वउपकुलपति डा केदारभक्त माथेमाले दलीय भागबण्डा हुनाले विश्वविद्यालयको शैक्षिक गुणस्तर खस्केको बताए । उनले प्राध्यापकले पढाउने मात्र नभई राज्यलाई निर्देशन दिने ठाउँ भएकाले दलीय भागबण्डा गर्दा मुलुकलाई नै घाटा हुने गरेको बताए । सांसद रामकुमारी झाँक्रीले दलीय भागबण्डाले विश्वविद्यालयलाई नै अस्तव्यस्त बनाएकाले त्यसलाई रोक्नुपर्ने बताइन ।

Loading...