डिभी लोटरी भर्न यसपटक पासपोर्ट अनिवार्य चाहिने

काठमाडौँ, ७ आश्विन । आगामी आर्थिक बर्षका लागि अक्टोबर २ देखि डिभी लोटरी खुल्ने भएको छ । अमेरिकी सरकारको विदेश मन्त्रालयका अनुसार आगामी अक्टोबर २ तारिख बुधबार न्युयोर्क समय अनुसार दिउसो १२ बजेदेखि डिभी लोटरी भर्न सकिनेछ ।

न्युयोर्क समय अनुसार नोभेम्बर ५ मंगलबार दिउसो १२ बजेसम्म डिभी लोटरी भर्न सकिनेछ । यसपटक डिभी लोटरी भर्नका लागि बंगालादेश, ब्राजिल, क्यानडा, चीन, कोलम्बिया, डोमेनिक रिपब्लिक, एल साल्भाडोर, ग्वाटेमाला, हैटी, इन्डिया, पाकिस्तान, जमैका, मेक्सिको, नाइजेरिया, फिलिपिन्स, दक्षिण कोरिया, बेलायत र भियतनामका नागरिकहरु योग्य हुने छैनन् ।

डिभी कार्यक्रममा सहभागी हुनका लागि १२ बर्षको कोर्ससहित हाइस्कुल वा सो सरहको पढाई पूरा गरेको हुनुपर्छ । यदि पढाईको योग्यता छैन भने अमेरिकी सरकारले तोकेका २ बर्षको तालिम वा अनुभव चाहिने जागिरमा विगत ५ बर्षमा २ बर्षको कामको अनुभव भएको हुनुपर्छ । डिभी लोटरी २०२१ बारे अमेरिकी सरकारको १८ पृष्ठ लामो निर्देशिका जारी गरेको छ ।

यसपटक डिभी लोटरीमा सहभागी हुनका लागि अमेरिकी सरकारले पासपोर्ट अनिवार्य बनाएको छ । डिभी लोटरी फर्म भर्दा पासपोर्ट नम्बर, पासपोर्ट जारी भएको देश, पासपोर्टको अवधि लगायतका विवरणहरु भर्नुपर्नेछ ।

पासपोर्ट पनि म्याद सहितको हुनुपर्नेछ । मुख्य आवेदकका हकमा पासपोर्ट आवश्यक परे पनि परिवारका अन्य सदस्यहरुको विवरण बुझाउँदा भने ती सदस्यहरुको पासपोर्ट नम्बर आवश्यक नपर्ने अमेरिकी सरकारले जनाएको छ ।

कम्युनिष्ट नियन्त्रित देशका सन्दर्भमा भने कम्युनिष्ट नियन्त्रित देशको सरकारबाट पासपोर्ट पाउन नसकेको व्यक्तिका सन्दर्भमा वा अमेरिकी विदेशमन्त्री र गृहमन्त्रीबाट वेभर स्वीकृत भएका व्यक्तिका सन्दर्भमा बाहेक अन्य सबैले डिभी लोटरी भर्दा पासपोर्टको विवरण अनिबार्य बुझाउनुपर्ने जनाइएको छ ।

डिभी लोटरी फर्म भर्दा अन्तिम अवधिसम्म नकुर्न अमेरिकी सरकारले सुझाव दिएको छ । अक्टोबर २ देखि नोभेम्बर ५ सम्म भरेको डिभी लोटरीको नतिजा सन् २०२० को मे ५ देखि आउन थाल्ने जनाइएको छ ।