बल्ल पुग्यो जाजरकोट अस्पतालमा औषधि

जाजरकोट, ३ असोज । औषधि अभाव भएको तीन हप्तापछि जाजरकोटमा औषधि पुगेको छ । औषधि अभाव हुँदा उपचारमा परेको समस्यका बारेमा पटकपटक समाचार प्रकाशित भएपछि प्रदेशसभा सदस्य गणेशप्रसाद सिंह र कृष्ण शाह आज गाडीमा औषधि लिएर जिल्ला अस्पताल पुगेका हुन् ।

दैनिक ठूलो सङ्ख्यामा उपचारका लागि बिरामी भए पनि औषधि नपाउँदा रित्तो हात फर्कने गरेको गुनासो बढेपछि आज औषधि ल्याएर आएको जाजरकोट (क) का प्रदेशसभा सदस्य गणेशप्रसाद सिंहले बताए ।

भाइरलका कारण बिरामी चाप बढेसँगै औषधि अभाव हुँदा दैनिक चिकित्सकले जाँच गरेर औषधि पसलबाट औषधि लिन सुझाव दिँदै आएका थिए । आज औषधि आएसँगै बिरामीलाई उपचारमा सहज भएको छ ।

अस्पतालमा चिकित्सकको सङ्ख्या बढेसँगै सेवा प्रवाह राम्रो भए पनि बेलाबेलामा प्रभावकारी जनसम्पर्क नहुँदा समस्या आउने गरेको प्रदेशसभा सदस्य सिंहले बताए । कर्णाली प्रदेश सामाजिक विकास मन्त्रालय आपूर्ति महाशाखाबाट जाजरकोटको जिल्ला अस्पतालका लागि २४ प्रकारका औषधि ल्याइएको छ ।

त्यस्तै ह्विल चियर, वार्डबाट समेत ल्याइएको प्रदेशसभा सदस्य कृष्ण शाहले जानकारी दिए । जाजरकोट जिल्ला अस्पतालले अभाव भएको औषधिको सूची प्रदेश कार्यालयलाई नपठाएका कारण आपूर्ति महाशाखाबाट प्रदेशसभा सदस्यले आफैँ गाडीमा राखेर औषधि पाए जति राखेर ल्याएको बताएका छन् ।

जिल्लाका सबै ठाउँमा भाइरल फैलिएका कारण सबै ठाउँमा औषधि पठाइने उनले बताए । गाउँमा भाइरलका कारण जनता थलिएका छन्, विद्यालय बन्द भएको उनको गुनासो छ । त्यस्तै अस्पतालमा भएका चिकित्सकहरु सबै समायोजनमा गएका कारण उपचारमा समस्या पर्दै गएको अस्पताल व्यवस्थापन समितिका अध्यक्ष धर्मशिला बस्नेतले बताईन् ।

अस्पतालले अघिल्लो आर्थिक वर्षको लेखापरीक्षण नगरेका कारण औषधि खरीद गर्ने बजेट आए पनि बजेट खर्च गर्न नपाएको उनले बताईन् । गाउँगाउँमा औषधि पठाउनका लागि अझै औषधि थप गर्नुपर्ने अस्पतालले जनाएको छ ।

स्वास्थ्य बीमा गरेका बीमितहरुलाई अझै समस्या परेको छ । बीमाको दर र अस्पतालको फार्मेसीमा रहेको औषधिको दर नमिल्दा बिरामीले सहज रुपमा औषधि नपाएका बताएका छन् ।