एनआरएनएको नवौं विश्व सम्मेलनका लागि अध्यक्ष पदमा कुमार पन्तकाे उम्मेदवारी घाेषणा

काठमाडौं । गैर आवासीय नेपाली संघ (एनआरएनए)को नवौं विश्व सम्मेलनका लागि कुमार पन्तले अध्यक्ष पदमा उम्मेदवारी घाेषणा गरेका छन् । 

काठमाडौंकाे दरवारमार्गस्थित याक एण्ड यति हाेटेलमा पत्रकार सम्मेलन गरि पन्तले आफ्नाे उम्मेदवारी घाेषणा गरेका हुन । एनआरएनएकाे नवाैं विश्व सम्मेलन तथा अधिवेशन असोज २८ देखि ३० सम्म काठमाडौंमा हुँदैछ ।

एनआरएनएमा युराेपकाे संयाेजक, अन्तर्राष्ट्रिय परिषदकाे महासचिव र दुई कार्यकाल उपाध्यक्ष भइसकेका पन्त जर्मनीमा हस्पिटालिटी व्यवसायमा सम्लग्न छन । नेपालकाे गाेरखा निवासी पन्तकाे उम्मेदवारी घाेषणा कार्यक्रममा साउदी र युएईले समर्थनकाे घाेषणा गरेका छन् ।

पत्रकार सम्मेलनमा उनले आफू विजय भएमा संसारभर छरिएर रहेका नेपालीहरुको ज्ञान, सिप, प्रविधि र पुँजी नेपालमा भित्र्याउन लागि पर्ने बताए । साथै नेपालको पर्यटन विकासका लागि संसारभरका एनआरएनमार्फत प्रचार प्रसार गर्ने र धेरैभन्दा धेरै पर्यटक नेपालमा भित्र्याउन लागिपर्ने बताए । त्यसैगरी संघको योगदान, सम्मानपूर्ण वैदेशिक रोजगारी, नागरिकता र मतदानको अधिकार, दीगो संगठन र एनआरएनएमा व्यापक सहभागीता गराउनका लागि आफूले उम्मेदवारी घोषणा गरेको उनले जानकारी दिए । अध्यक्षमा विजयी भए संघका चालू परियोजनालाई निरन्तरता दिने, परियोजनाहरु सम्पन्न गर्ने अन्तर्राष्ट्रिय संघ संस्थासंग सहकार्य गर्ने, ब्रिटिस भुपू गोर्खाको माग सम्बोधन गर्न पहल गर्नेलगायतका प्रतिबद्धतापत्र पनि उनले सार्वजनिक गरेका छन् ।

एनआरएन नागरिकता पाउने अधिकार कार्यनयनका लागि पहल गर्ने, विदेशमा रहेका नेपालीलाई मतदानको सुनिश्चितता गर्न पहल गर्ने, भिजन २०२०को एजेन्डालाई अघि बढाउनका लागि आफूले अध्यक्षमा दाबेदारी प्रस्तुत गरेको उनले जनाएका छन् ।

एनआरएनएकाे अध्यक्ष पदमा बेलायतमा हस्पिटालिटी व्यवसायमै सम्लग्न कूल आचार्यले पनि उम्मेदवारी घाेषणा गरेका छन । 

गैर आवासीय नेपाली अभियानले व्यापकता पाएको पछिल्लो १६ वर्षमा यस संस्थालाई उपेन्द्र महतो, देवमान हिराचन, जीवा लामिछाने, शेष घले र वर्तमान अध्यक्ष भवन भट्टले नेतृत्व प्रदान गरिसकेका छन्। आगामी दुई वर्षे कार्यकालमा नेतृत्व लिने र एनआरएनए (अन्तर्राष्ट्रिय समन्वय परिषद्) कार्यसमितिका अन्य पदहरुका लागि प्रतिस्पर्धा निकै चर्को हुने अनुमान गरिएको छ। 

गैर आवासीय नेपाली संघको अधिवेशनमा विभिन्न देशबाट १८ सयदेखि दुई हजार प्रतिनिधि सहभागी हुनेछन्। अध्यक्ष, पाँच जना उपाध्यक्ष, महासचिव, दुई जना सचिव, कोषाध्यक्ष, सहकोषाध्यक्ष, महिला संयोजक, युवा संयोजक, पाँचजना क्षेत्रीय संयोजक तथा उपसंयोजक, महिला र युवा उपसंयोजक गरी २५ पदहरुमा निर्वाचन हुनेछ।

पन्तले गैर आवासीय नेपाली संघमा रहेर सामूहिक लगानीका परियोजनालाई जोड दिदैं आएका छन्। गैर आवासीय नेपाली आन्दोलनको डेढ दशकलाई समीक्षा गरेर विश्वसम्मेलनले निर्दिष्ट गरेका मार्गदर्शनलाई कार्यान्वयनलाई आफूले प्राथमिकतामा राख्ने उनले बताए। ‘भारत, चीन जस्ता डायस्पोराको तुलनामा नेपाली डायस्पोरा नयाँ छ। डायस्पोरा समुदायलाई मुलुकको विकासमा अझै कसरी लगाउने र नेपालसँग नेपालीलाई कसरी जोडिराख्ने भन्ने नै हाम्रो अभियानको ध्येय हो,’ उनले भने।

अध्यक्ष पदका प्रत्यासी कुमार पन्त अघिल्लो कार्यकालमा अध्यक्षका उम्मेद्वार बन्ने चर्चा थियो। तर, तत्कालीन अध्यक्ष शेष घलेले श्रीमति जमुना घलेलाई अध्यक्षको उम्मेद्वार बनाएपछि अध्यक्षको प्रत्यासीका रुपमा रहेका भवन भट्ट र कुमार पन्त आपसमा मिलेर अध्यक्ष र उपाध्यक्षमा चुनाव लडेका थिए। त्यसकारण पनि पन्तले यसपटक अध्यक्षमा आफ्नो दाबी स्वभाविक भएको बताउँदै आएका छन्।

Loading...