माधव नेपाल र मातृका यादवलाई कारवाही गर्न चलाइयो यस्तो अभियान

काठमाडौँ, ३० भदौ । सत्तारुढ दलका वरिष्ठ नेता माधवकुमार नेपाल र स्थायी समिति सदस्य मातृका यादवलाई कारवाही गराउनका लागि अभियान थालिएको छ । यसैक्रममा नेकपाको दुई नम्बर प्रदेश कमिटिले नै दुई नेतालाई कारवाही गर्न औपचारिक माग गरेको छ । नेकपाको दुई नम्बर प्रदेश कमिटिको कार्यालय बैठकले नेता नेपाल र यादवलाई कारवाही गर्न माग गरेको हो ।

माधव नेपाल र मात्रिका यादवको उक्साहटमा बर्दिबासमा आयोजित सपथ ग्रहण कार्यक्रममा हुलदंगा र कुटाकुट भएको भन्दै उनीहरुलाई कारवाही गर्न ‘हेडक्वार्टर’सँग माग गरेका हुन् । भदौ २४ गते बर्दिबासमा प्रदेश २ का केही जिल्ला कमिटी पदाधिकारी तथा सदस्यहरुको सपथ ग्रहण कार्यक्रममा तोडफोड र कुटाकुट भएको थियो । बर्दिबास सेवा समितिको हलमा हुन लागेको कार्यक्रममा तोडफोड तथा प्रदेश अध्यक्ष प्रभु साह एवं सचिव सुमन प्याकुरेलमाथि हातपातको प्रयास भएको थियो ।

त्यसको भोलिपल्ट बसेको प्रदेश कार्यालयको बैठकले घटना वरिष्ठ नेता नेपाल तथा स्थायी कमिटी सदस्य यादवको निर्देशनमा भएको निचोड निकाल्दै नेताद्वयमाथि छानबिन गरी आवश्यक कारबाहीको माग गरेको हो ।

‘नेता नेपाल र यादवसहित प्रदेशअन्तर्गतका स्थायी कमिटी सदस्यको छलफल र सहमतिअनुसार समिति निर्माण लगायतका क्रियाकलाप भएका हुन्,’ प्रदेशका एक पदाधिकारीले भनेका छन्, ‘केन्द्रमा भएको असन्तुष्टि जिल्लामा ल्याएर पोख्न पाइन्छ ?’

उनीहरुले के भनेका छन् भने नेकपाको केन्द्रीय कार्यालयमा अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्ड मिल्दाको असर प्रदेश २ मा देखिएको हो । प्रदेश २ का इञ्चार्ज सत्यनारायण माण्डल र अध्यक्ष प्रभु साहले गतसाता बर्दिबासमा भएको कुटाकुटका कारक नेपाल र उद्योगमन्त्री समेत रहेका यादव भएको सूचना ओली र प्रचण्डलाई दिइसकेका छन् । महासचिव विष्णु पौडेलसमक्ष पनि यो विषयमा रिपोर्टिङ भइसकेको छ ।

प्रदेश कार्यालयले तोडफोडको नेतृत्व गर्ने सह-इन्चार्ज महेन्द्र पासवान, पूर्वसांसद उमेश यादव र केन्द्रीय सदस्य जगत यादवलाई कारवाहीका लागि केन्द्रमा सिफारिस गरेको एक पदाधिकारीले जनाएका छन् । प्रदेश कार्यालयमा इन्चार्ज, सहइन्चार्ज, अध्यक्ष र सचिव छन् ।

प्रदेश कार्यालय बैठकमा बोलाउँदा सहइन्चार्ज पासवान नआएको र पार्टीबिरुद्ध गतिविधि गरेको आरोप प्रभु साह पक्षको छ । आक्रमणमा संलग्न गंगा पासवान र फुलगेन नायकलाई प्रदेश कमिटीबाट निष्कासन गर्न र पूर्वमन्त्रीसमेत रहेका उमेश यादवको पार्टीको साधारण सदस्यता खारेज गर्न प्रदेश कार्यालय बैठकले माग गरेको छ ।

सपथग्रहण प्रकरणपछि नेता कार्यकर्ताहरुले एक पक्षले अर्को पक्षका कमजोरी औंल्याउँदै सामाजिक सञ्जाल तताउन थालेका छन्। दुवै पक्ष आरोप-प्रयारोपमा उत्रिएका छन् ।

जिल्ला कमिटी गठनमा मापदण्डविपरीत प्रदेश समितिका अध्यक्ष प्रभु साह र सचिव सुमनराज प्याकुरेलले एकलौटी र मनपरी गरेको असन्तुष्ट पक्षले आरोप लगाएका छन् । पार्टीका पुराना र इमानदार नेता‍/कार्यकर्तालाई पाखा लगाएर आफू निकट र पार्टीको साधारण सदस्य नै नरहेका व्यक्तिलाई जिल्ला कमिटीमा ल्याइएको उनीहरुको आरोप छ।

एकपक्षीय ढंगमा गठन गरिएको जिल्ला कमिटी सच्याउन र प्रदेश अध्यक्ष साहलाई कारबाही गर्न असन्तुष्ट पक्षले नेकपा सचिवालयमा निवेदनसमेत दर्ता गराएका छन् ।

अध्यक्ष साह र सचिव प्याकुरेल पक्षले भने कार्यकर्ताको असन्तुष्टिलाई ‘ठूलो संगठनभित्रको स्वभाविक प्रक्रिया’ भन्दै सामान्य रुपमा अर्थ्याउने गरेका छन् ।

Loading...