विराटनगर, २७ भदौ । प्रदेश नं १ को पदेशसभाको आज बसेको बैठकले ‘सार्वजनिक निजी तथा साझेदारी लगानीका सम्बन्धमा व्यवस्था गर्न बनेको विधेकय, २०७६’ सर्वसम्मतिले पारित गरेको छ ।
प्रदेशसभा नियमावली, २०७४ को नियम १०८ बमोजिम आन्तरिक मामिला तथा कानूनमन्त्री हिक्मतकुमार कार्कीले सो विधेयक पारित गरियोस् भनी सभामा प्रस्ताव पेश गरेका थिए । उनले सो विधेयकले प्रदेशको विकासमा कोशेढुङ्गा सावित हुने भन्दै विकास र समृद्धिको यात्राको बाटो खुल्ने चर्चा गरे ।
विधेयकमा अर्थ समितिद्वारा प्रस्तुत भएको प्रतिवेदनमा प्रदेशसभा सदस्य विमल कार्कीले दफावार छलफल र विज्ञहरुको राय सुझावबाट परिपक्व भएको विधेयकले प्रदेशमा आर्थिक लगानीका सम्भावना उजागर गरेको भन्दै आयआर्जन र रोजगारी सिर्जनामा विधेयकको भूमिका अतुलनीय रहने बताए ।
प्रदेश नं १ को प्रदेशसभा नियमावली, २०७४ बमोजिम सामाजिक विकास समितिका सभापति सरिता थापाले वार्षिक प्रतिवेदन सभामा पेश गरेका थिए ।