१७ वर्षदेखि साउदी अरबको जेलमा सन्तबहादुर । परिवारमा यस्तो विजाेग

पर्वत, २३ भदौ । पर्वतको मोदी गाउँपालिका–४ खुइँजरीका सन्तबहादुर पुन १७ वर्षदेखि साउदी अरबको कारागारमा अलपत्र परेका छन । २०५७ साल फागुनमा साउदी पुगेका पुन त्यहाँको गाउँमा भेडाबाख्रा हेर्ने काम गर्दै आएका छन । उनले भेडा चोर्न आएका व्यक्तिको हत्या गरेको अभियोगमा जेल जीवन बिताइरहेका छन् ।

स्थानीय अदालतले ०५८ साल जेठ पहिलो साता ‘मृतकको परिवारले आममाफी नदिए मृत्युदण्ड हुने’ अन्तरिम आदेश सुनाएको थियो । पुनले टेलिफोनमा बताएअनुसार चोरी गर्न आएका स्थानीय ‘उदाआएद होमद’ नामका व्यक्तिबाट बाख्रा जोगाउन प्रतिकार गर्नेक्रममा उनको मृत्यु भएको थियो । मृतकका दुई छोरामध्ये जेठाले तत्कालै आममाफी दिएको पुनले बताए ।
“कान्छो छोरा बल्ल १८ वर्ष पुग्दैछ,” पुनले भने, “उसको उमेर नपुग्दासम्म जेलमै बस्नुप¥यो । अब मेरो जीवन उसैको हातमा छ ।”

कूटनीतिक पहल गरिएको भए यसअघि नै छुटिसक्ने अवस्था रहेकोमा कसैले वास्ता नगरेको उनको गुनासो छ । “उतिबेलै मृत्युदण्ड हुन सक्थ्यो, अहिलेसम्म भाग्यले बाँचेको छु,” उनले भने ।

निम्नस्तरको परिवारले सरकारका उच्च अधिकारीसम्म गुहार माग्न नसक्दा न्याय पाउन नसकेको उनी बताउँछन् । पुनका एक श्रीमती र तीन छोरा छन् । एक छोरा अपाङ्ग छन् । तीनै छोरालाई लिएर श्रीमती माया केही वर्षदेखि सदरमुकाममा ज्यालामजदुरी गर्दैै आएका छन ।

“उहाँलाई छुटाउन सके अरू केही चाहिएको थिएन,” मायाले भनिन, “दिनभरि दुःख ग¥यो, रातभरि उतैको चिन्ताले निद्रा पर्दैन ।”

सरकारीस्तरबाट पहल भए श्रीमान् छुट्ने भन्दै अझै पनि भेट हुने आश नमेटिएको उनले बताइन । सन्तबहादुर जेल परेको बारे २०५८ साल कात्तिक २ गते गृह मन्त्रालयले स्थानीय प्रशासनलाई पारिवारिक विवरण पठाउन आदेश दिएको थियो । उतिबेलाको प्रशासनले पुनको पारिवारिक र व्यक्तिगत अवस्थाबारे मन्त्रालयलाई प्रतिउत्तर पनि पठाएको थियो ।

तर सशस्त्र द्वन्द्वका कारण पुनको उद्धारमा सरकारले चासो नदिएको उनका आफन्त बताउँछन् । “द्वन्द्व चर्केकाले उतिबेला सबै कुरा भन्नसक्ने अवस्था थिएन,” दाजु कुलबहादुरले भने, “अहिले मन्त्रालयले चासो दिए भाइ छुट्थ्यो ।” भाइलाई छुटाउन कुलबहादुरले विगत ३ वर्षदेखि सरकारी अधिकारीदेखि विभिन्न मानव अधिकारवादी सङ्घसंस्थामा समेत धाइरहेको बताइएको छ ।

Loading...