२ वडाअध्यक्षबीच कुटाकुट हुँदा गाउँभरि त्रास

ओखलढुङ्गा, २३ भदौ । मादक पदार्थ सेवन गरी एक वडा अध्यक्षले अर्को वडा अध्यक्षलाई कुटपिट गरेका छन् ।

छिमेकी वडाका वडाध्यक्षलाई कुटपिट गरेको आरोपमा प्रहरीले चम्पादेवी गाउँपालिका–८ का वडाध्यक्ष अजय लुइँटेललाई पक्राउ गरेको हो । लुइँटेलले असार ३० गते चम्पादेवी गाउँपालिकाको कार्यालय ताप्केडाँडामा सोही गाउँपालिका–७ का वडाध्यक्ष सुरेश थापालाई कुटपिट गरेका थिए । लुइँटेल नेपाली काँग्रेस र थापा नेकपाबाट निर्वाचित वडाध्यक्ष हुन् ।

मादक पदार्थ सेवन गरी लुइँटेलले आफूलाई कुटपिट गरेको भन्दै जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएका थिए । लुइँटेललाई आइबार साँझ सदरमुकामबाट पक्राउ गरिएको प्रहरी नायब उपरीक्षक पुष्पराज मल्लले जानकारी दिए ।

आफूलाई पटक–पटक धम्की आएको र पछिल्लो पटक ०७६ असार ३० गते आफूमाथि कार्यालयमै आक्रमण भएपछि बाध्य भएर सहकर्मीविरुद्ध उजुरी गरेको पीडित थापाले बताए । यसरी वडा अध्यक्षहरुबीच नै कुटाकुट हुने र गौडा कुरेर एकले अर्कोलाई आक्रमण गर्ने जस्तो परिस्थिति बनेपछि स्थानीयहरु त्रसित बनेका छन् । उनीहरुले जनप्रतिनिधिहरु नै कुटपिटमा उत्रेका कारण उनीहरुले आफ्ना समर्थकहरु उतारेर ठूलो झडप निम्तिनेतर्फ संकेत पनि गरेका छन् ।

Loading...