जाजरकोट, २१ भदौ । नलगाड नगरपालिका–६ का सुदाम खड्का जाजरकोट अस्पतालमा खुट्टामा लागेको घाउको उपचार गर्न आए पनि औषधि नपाएको गुनासो गरे । जिल्ला अस्पतालको फार्मेसीमा औषधि नपाउँदा निजी मेडिकलमा गएर औषधि किन्न बाध्य भएको उनले सुनाए । उनले स्वास्थ्य बीमा गरेका छन्, तर अस्पतालको फार्मेसीमा नपाउँदा बाहिर गएर औषधि खरीद गर्न बाध्य भएको बताए ।
त्यस्तै कुशे गाउँपलिका– ४ का जनक सिंहले टाइफाइड भएर जिल्ला अस्पतालको फार्मेसीमा औषधि लिन आएको तर नपाएर निजी पसलमा गएर औषधि किन्न बाध्य भएको बताए । आफूले स्वास्थ्य बीमा गरे पनि बाहिरबाट औषधि किन्नुपरेको दुखेसो उनले गरे ।
जाजरकोट अस्पतालमा अहिले घाउँमा लगाउने औषधि, घाउँ सिलाउने सिलक आई ब्रोफिन, मुपे्रेसन मलहम, एमपी कोलोकसा सिफेकजिमलगायतका १७ भन्दा बढी औषधि नहुँदा निजी मेडिकलमा गएर खरीद गर्न बिरामी बाध्य भएका छन् । औषधि नपाउँदा सबैभन्दा बढी स्वास्थ्य बीमा गरेका बिरामी मारमा परेका छन् ।
आफू विमित भएपनि बाहिर औषधि किन्न रकम खर्च गर्नुपर्दा दोहोरो मारमा परेको उनीहरुको गुनासो छ । जाजरकोटका अधिकांश स्वास्थ्य संस्थामा यही समस्या रहेको पाइएको छ । अघिल्लो आर्थिक वर्षको हिसाब (मलेप) नभएका कारण औषधि खरीदमा समस्या भएकोले पनि औषधि खरीदमा अप्ठयारो परेको अस्पतालका डाक्टर केशर कार्कीले बताए । आफ्नै लेखापाल नहुँदा दैनिक कारोवारमा समस्या आएको उनको भनाइ थियो । अस्पतालमा चार दरबन्दी खाली रहेकाले काममा समस्या भएको छ ।
जिल्लाका सात वटा स्थानीय तहले औषधि खरीद नगर्दा स्वास्थ्य संस्थामा निःशुल्क पाइने सबै खालका औषधि नपाइएको स्थानीयको गुनासो छ । जिल्लाका तीन ठाउँमा प्राथमिक स्वास्थ्य केन्द्र भएपनि चिकित्सक नहुँदा उपचारमै समस्या हुँदै आएको छ ।
नलगाड नगरपालिकाको दल्लीमा तीन महीनादेखि एमबिबिएस दरबन्दीमा कार्यरत चिकित्सक नहुँदा दैनिक स्वास्थ्य सहायकको भरमा भरमा उपचार हुँदै आएको छ । त्यस्तै गर्खाकोट प्राथमिक स्वास्थ्य केन्द्रमा एक वर्षदेखि चिकित्सकको दरबन्दी खाली छ । बारेकोट गाउँपालिकाको लिम्सामा एक जना करारमा नियुक्त भएका चिकित्सकको भरमा स्वास्थ्य संस्था चलेको छ ।
कुशे गाउँपालिकाका पाँच वटा स्वास्थ्य संस्थामा दरबन्दीअनुसारको स्वास्थ्यकर्मी नहुँदा उपचारमा समस्या भएको गाउँपालिकाका अध्यक्ष हरिचन्द्र बस्नेतले बताए । गाउँमा केही भएका स्वास्थ्यकर्मीले आवश्यक उपकरणको अभावमा काम गर्न मुस्किल भएको बताएका छन् ।
गाउँमा बिरामीको अनुहार हेरेर र हातले छामेर मात्र उपचार गर्नुपर्ने बाध्यता रहेको बताइन्छ । टाढा गाउँबाट स्टेचर, डोकोमा बोकेर बिरामी ल्याइए पनि तोकिएको औषधि र उपयुक्त उपचार नहुँदा दैनिक स्वास्थ्यकर्मी र बिरामीको द्वन्द्व मात्र निम्तिएको स्वास्थ्यकर्मी बताउँछन् ।
अधिकांश बिरामी निजी औषधि पसलमा लिएर उपचार गरेर फर्कने गरेको बारेकोट गाउँपालिका–४ का देवी बोहोराले बताइन् । यातायातको पहुँच नहुँदा डोको र स्टेचरमा बोकेर ल्याएको पीडा, औषधि नपाएपछि उठ्ने रिसले गर्दा स्वास्थ्यकर्मी र बिरामीका आफन्तबीच द्वन्द्व बढ्ने गरेको उनको भनाइ थियो ।
स्वास्थ्य संस्था टाढा हुँदा र औषधि नपाइने समस्याले गर्दा अधिकांश ग्रामीण क्षेत्रमा स्थानीयवासी रोग पालेर अकालमै ज्यान जाने गरेको स्थानीय शिक्षक बताउँछन् । गाउँमा हुने स्वास्थ्य संस्थामा व्यवस्थापन, भवन र बिरामीलाई राख्ने ठाउँ नहुँदा उपचारभन्दा पीडा बढी हुने गरेको छ ।