केन्द्रीय प्रसारण लाइन नपुगेर साना आयोजनालाई सास्ती

बलेवा, २० भदौ । बाढीले विद्युत् आयोजनाको बाँध बगाएपछि गत साउनमा जिल्लाको निसीखोला–४ जैथुम्कामा रहेको १२० किलोवाट क्षमताको निसीखोला दोस्रो जलविद्युत् आयोजना दुई साता बन्द भयो । स्थानीय उपभोक्ताकै लगानीमा निर्माण भएको आयोजनाको बाँध पुनःनिर्माणका लागि पनि स्थानीय बासिन्दाले खर्च जुटाए र बन्द भएको तेस्रो साता खुलाए ।

निसीखोलाको यो आयोजनाले भोगेको समस्या नयाँ भने होइन । यहाँका १६ वटा आयोजनाले वर्षेनी यस्तो समस्याको सामना गर्दैआएका छन् । वर्षात्को समयमा बाढीले बाँध बगाउने, खम्बाहरु ढाल्ने र तार चुँडाल्ने समस्याले सताउने गरेको निसीखोला गाउँपालिका–३ का वडाध्यक्ष जुनविक्रम शाहीले बताए । वर्षेनी आयोजनाहरुमा समस्या आउँदा उपभोक्ताहरु भने आत्तिने गरेका छन् । एकातर्फ लामो समय बत्ती बाल्न नपाउने र अर्कोतर्फ मर्मत खर्च समेत उपभोक्ताले नै ब्यहोर्नुपर्ने भएकाले उनीहरुमा निराशा छाएको हो । “ठूला आयोजनामा जस्तो बाँध बाँधेर बनेका हाम्रा आयोजना हैनन्,” शाहीले भने – “सानोतिनो बाढी आयो भने सबैतिर असर गर्छ ।”

निसीखोलामा जस्तै तमानखोलामा पनि ११ वटा लघुजलविद्युत् आयोजना सञ्चालनमा छन् । ती आयोजनाले पनि वर्षेनी समस्याको सामना गर्नैपर्छ । तमानखोलाको बोंगादोभानमा रहेको १०० किलोवाट क्षमताको तल्लो तमानखोला लघुजलविद्युत् आयोजना स्थानीय सरकारको निर्वाचनपछि सञ्चालनमा आएको हो । सञ्चालनमा आएको दुई वर्षमा यो आयोजनाले पनि कैयौं समस्या झेल्न परिरहेको छ । “बेला बेलामा मर्मत गर्नुपर्ने गरी समस्या आउँछन्,” गाउँपालिकाका अध्यक्ष जोकलाल बुढाले भने – “मर्मत गरेर चलाए पूर्ण क्षमतामा चल्ने आयोजना हो ।” केन्द्रीय प्रसारण लाइनको पहुँच नपुगेकाले दुबै गाउँपालिकाको विद्युत्को मुख्य स्रोत भनेकै लघुजलविद्युत् आयोजना हुन् ।

बागलुङका दश पालिकामध्ये केन्द्रीय प्रसारण लाइन विस्तारका लागि प्रारम्भिक कामसमेत नभएका गाउँपालिका हुन् निसी र तमानखोला । दुबै ठाउँमा स्थानीय उत्पादनकै भरमा बत्ती मात्रै बालिँदै आइएको छ । ढोरपाटन नगरपालिका र बडिगाड गाउँपालिकामा विस्तारको काम शुरु भए पनि बत्ती बलिसकेको छैन । ताराखोला गाउँपालिकामा आंशिक घरहरुमा मात्रै केन्द्रीय प्रसारणको बत्ती छ ।

नेपाल विद्युत् प्राधिकरणले वितरण गर्ने केन्द्रीय प्रसारण लाइन जिल्लाका दुई गाउँपालिका र तीन नगरपालिकामा मात्रै पुगेको छ । बागलुङ, जैमिनी नगरपालिका, काठेखोला र बरेङ गाउँपालिकामा पूर्ण विद्युतीकरण भएको छ । बाँकी दुई गाउँपालिका र एक नगरपालिकामा आगामी तीन महिनाभित्र उपभोक्ताले प्रयोग गर्न पाउने गरी विस्तारको काम चलिरहेको प्राधिकरण बागलुङ वितरण केन्द्रका सूचना अधिकारी प्रमोद पंगेनीले जानकारी दिए ।

“जिल्लाभर २७ हजार ९०० घरमा केन्द्रीय प्रसारण लाइन पुगेको छ,” पंगेनीले भने – ”आगामी तीन महीनामा ताराखोला गाउँपालिकाका सबै घरमा बत्ती बल्छ ।” बागलुङमा ६१ हजार ४८२ परिवार छन् । अधिकाँश घरमा विद्युत्को पहुँच रहेको भए पनि केन्द्रीय प्रसारण लाइन भने आधाभन्दा कम घरपरिवारले मात्रै उपभोग गर्दैआएका छन् । केन्द्रीय प्रसारण लाइन नपुगेको ढोरपाटन नगरपालिका र बडिगाड गाउँपालिकामा ११ केभिए प्रसारण लाइनको काम सकिएसँगै पालिका मुकामहरुमा विद्युत् वितरणका लागि आवश्यक प्रकृया थालिएको छ ।

गल्कोट नगरपालिका–५ हरिचौरमा रहेको सब–स्टेशनबाट बुर्तिबाङसम्मको प्रसारण लाइनको काम सकेर वितरण लाइनको काम थालिएको वितरण केन्द्र प्रमुख कपिलराज पाण्डेले बताए । गण्डकी प्रदेश सरकारले उपलब्ध गराएको ९० लाख रुपैयाँको बजेटले यो काम गरिएको हो ।

लघुजलविद्युत् आयोजनाको विद्युत् प्रयोग गर्दा वर्षेनी समस्या पैदा हुने र पर्याप्त विद्युत् उपभोग गर्न नपाउने गुनासो उपभोक्ताको छ । “कुखुरा फार्म चलाउन, सानो फ्रिज राख्न समेत बत्तीले पुग्दैन,” निसीखोला–३ का वडा अध्यक्ष शाहीले भने – “सानातिना उद्योग चलाउँछौं भन्नेलाई पनि विद्युत्कै कारण प्रोत्साहन गर्न सकिएको छैन ।” केन्द्रीय प्रसारण लाइन विस्तार गर्न प्राधिकरणलाई अनुरोध गरिएको तमानखोला गाउँपालिकाका अध्यक्ष जोकलाल बुढा बताउँछन् ।

“हामीले प्राधिकरणलाई अनुरोध गरेका छौं, जनताको दैलोमा सेवा पु¥याउने उसको दायित्व हो,” बुढाले भने “आवश्यक सहजीकरण गर्छौं भनेका छौं ।” प्राधिकरणको वितरण केन्द्रका प्रमुखले भने नेपाल सरकार वा प्रदेश सरकारले योजना बनाएर अख्तियारी दिए प्राधिकरणले काम गर्ने बताउँछन् ।

अहिले बागलुङमा मासिक १० लाख युनिट विद्युत् खपत हुँदै आएको छ । हरेक दिन साँझ ६ मेगावाट र दिउँसो ३ देखि ४ मेगावाट विद्युत् खपत हुने गरेको वितरण केन्द्रको तथ्याङ्क छ । सूचना अधिकारी पंगेनीका अनुसार, मासिक एक करोड रुपैयाँ महशुल कार्यालयले उठाउने गरेको छ । लघुजलविद्युत् आयोजना बाहेक बागलुङमा उत्पादित दुई ठूला आयोजना मात्रै केन्द्रीय प्रसारण लाइनमा जोडिएका छन् । सयपत्री विद्युत् आयोजना २।५ मेगावाट ताराखोला र ठेउलेखोला विद्युत् आयोजना १।५ मेगावाट मात्रै केन्द्रीय प्रसारण लाइनमा जोडिएका छन् ।