सडकमा दैनिक ड्युटीमा खट्ने ट्राफिक महिला प्रहरीको आकर्षण घट्दो छ । महिला भएकै कारण पुरुषभन्दा बढी समस्या भोग्नु परिरहेकाले उनीहरूको आकर्षण घट्दै गएको हो ।
थापाथली ट्राफिक प्रभागमा कार्यरत प्रहरी सहायक निरीक्षक (असई) राधिका विकका अनुसार सडकमा सवारी व्यवस्थापना गर्न ६–सात घन्टा उभिनुपर्दा पहिलो समस्या भनेको शौचालय जाने नै हुन्छ । शौचालन जान नपाएर छटपटिँदै ड्युटीमा खट्दा पत्थरीसम्मको समस्या भइरहेको छ । उनले ड्युटीमा खट्ने ट्राफिक महिलाका समस्यालाई मानव अधिकारसँग जोडेर हेर्नुपर्ने बताइन् ।
‘उभिएर हिलो, धुलो र पानीमा ड्युटी गर्नुपर्ने अनि पिसाब र दिसा लाग्दा शौचालय जान नपाउँदा ठूलो पीडा भइरहन्छ,’ असई विकले भनिन्, ‘उपत्यकामा बढेको सहरीकरण र सडक भत्काउने तथा बनाउने क्रममा पुरुषभन्दा महिला ट्राफिक प्रहरी बढी समस्या भोग्न बाध्य भइरहेका छन् ।’
प्रहरी अस्पतालमा कार्यरत प्रहरी वरिष्ठ उपरीक्षक डा. आशा सिंहका अनुसार महिलाले लामो समय पिसाब नफेर्दा इन्फेक्सन हुने सम्भावना धेरै हुन्छ । पिसाब क्लियर नभएकै कारण पछि किड्नी फेल हुने, पत्थरीजस्ता रोग लाग्न सक्ने डा. सिंहको भनाइ छ ।
प्रहरीको लैङ्गिक नीतिमा महिला भएकै कारण कुनै पनि किसिमको भेदभाव नगर्ने उल्लेख छ । पुरुषसमान सबै सेवा र सुविधा महिलाले उपभोग गर्ने उल्लेख रहेको प्रहरी प्रवक्ता गणेश केसीले बताए । उनले भने, महिला भएकै कारण कुनै पनि सेवा, सुविधा र अवसरमा वञ्चित गर्न मिल्दैन ।
पुरुष ट्राफिकलाई भने सडकमा खट्दा आसपासका पसल, होटलमा गएर शौचालय प्रयोग गर्न समस्या नहुने महिला ट्राफिकको भनाइ छ । महिला ट्राफिकलाई महिनावारी भएको समयमा कुनै सुविधा छैन । उनीहरूले दैनिक ड्युटी गर्नैपर्छ । महानगरीय ट्राफिक प्रहरी महाशाखा बग्गीखानामा कार्यरत ट्राफिक प्रहरी निरीक्षक (इन्स्पेक्टर) चञ्चल श्रेष्ठ भन्छिन्, ‘महिलालाई घरमै शौचालय जान त पालो पर्खनुपर्छ भने सडकमा सहजै रूपमा शौचालय प्रयोग गर्न सक्ने अवस्था नै रहन्न ।’ उनले महिला ट्राफिकले समयमा शौचालय जान नपाएर पर्खेर बस्दा केहीलाई पत्थरी भएको बताइन् ।
महाशाखामा निरीक्षकदेखि परिचरसम्म मात्र महिला छन् । इन्स्पेक्टर श्रेष्ठले आफूभन्दा तल्लो दर्जाका महिला ट्राफिकलाई पर्ने समस्या उनीहरूले राखेको समयमा माथिल्लो दर्जाका अधिकृतसम्म पु¥याउने र सेवा तथा सुविधा दिने गरेको बताइन् । महिलालाई सुत्केरी हुँदा दुई महिना बिदाको सुविधा हुन्छ । त्यसबाहेक कुनै पनि सुविधा छैन । पुरुष र महिलाका सेवा र सुविधा समान भएकाले ड्युटी पनि समान नै गर्नुपर्ने हुन्छ । शारीरिक अशक्तता भएमा मात्र उनीहरूलाई थप सुविधा दिने गरेको महाशाखा जनाउँछ । महिला भएकै कारण ड्युटी समय कम गर्न नमिल्ने भन्दै ट्राफिक प्रवक्ता प्रहरी उपरीक्षक (एसपी) वसन्त पन्त सेवा र सुविधा समान भएका कारण काम पनि समान गर्नुपर्ने बताउँछन् । उनले भने, ‘महिलालाई काम कम लगाउने हो भने पुरुष ट्राफिकबाट विरोध आउँछ, त्यसैले मानवीय संवेदना भएर पनि आफूहरूले असमान व्यवहार गर्न मिल्दैन ।’ उनी शारीरिक अक्षमता, बिरामी, सुत्केरीको समयमा भने सकेसम्म सडकको ड्युटीलाई टेबुलवर्कमा ल्याउने गरेको बताउँछन् ।
यातायात व्यवस्था विभागका अनुसार उपत्यकामा सात लाखको हाराहारीमा सवारीसाधन गुड्छन् । ती सवारीसाधन व्यवस्थित सञ्चालन गर्न एक हजार एक सयको सङ्ख्यामा ट्राफिक प्रहरी कार्यरत छन् । तीमध्ये पुग–नपुग एक सयको सङ्ख्यामा महिला ट्राफिक छन् । कुल दरबन्दीको १० प्रतिशत बिदामा बस्ने, तालिममा जाने र सरुवा तथा काजका कारण महाशाखामा दैनिक झन्डै आठ सयको सङ्ख्यामा मात्र ट्राफिक कार्यरत रहन्छन् ।
ठूलो सङ्ख्यामा चल्ने सवारीसाधनलई व्यवस्थित सञ्चालन, नियमन र नियन्त्रण गर्न सीमित ट्राफिक भएका कारण महिलालाई पनि चाहेर कुनै सुविधा दिन नसकेको महाशाखाका अधिकृतहरूको भनाइ छ ।
थापाथलीको ट्राफिक प्रभाग महिला मात्रले सञ्चालन गरेका छन् । उनीहरूको कामको चौतर्फी प्रशंसा हुने गरेको छ । नियमविपरीत सवारी चलाउनेलाई पुरुष ट्राफिकले छुट दिने गरे पनि महिलाले नदिने गरेकाले उनीहरूको कामप्रति महाशाखाले प्रशंसा गर्दै आएको छ । कामप्रतिको जिम्मेवारीबोधका कारण महिला ट्राफिक बढी सचेत हुने गरेको ट्राफिकका उच्च अधिकारीको बुझाइ छ ।
सडकमा महिला उभिएर सवारीसाधन व्यवस्थित सञ्चालन गर्दा केही चालकले भने महिला भएकै कारण जिस्क्याउने गर्छन् । एक महिला ट्राफिक भन्छिन्, ‘जिस्क्याउने चलन विगतमा थियो, अहिले त्यस्तो छैन ।’ ती महिला ट्राफिकका अनुसार बरु कुनै न कुनै समयमा कारबाहीमा परिने भयले पुरुष चालक महिला टा«ाफिकमाथि अभद्र व्यवहार गर्न सक्दैनन् । बरु चालक महिला प्रहरीले पुरुषको जस्तो अभद्र शब्द नबोल्ने र उचित तथा नम्र भाषामा आफ्ना कुरा राख्ने गरेको बताउने गर्छन् ।
प्रहरी प्रधान कार्यालयका अनुसार नेपाल प्रहरीमा ६७ हजार दुई सय ८७ जनशक्ति छ । त्योमध्ये चार हजार एक सय ३२ महिला प्रहरी छन् । वरिष्ठ उपरीक्षक चार, उपरीक्षक तीन, नायव उपरीक्षक १४, निरीक्षक ४६, नायव निरीक्षक एक सय ५७, सहायक निरीक्षक दुई सय ४३, हवल्दार ६ सय २५, जवान दुई हजार आठ सय ४८ र परिचर एक सय ८३ महिला छन् । देशभर ट्राफिकमा प्रहरी उपरीक्षक एक, प्रहरी निरीक्षक एक, प्रहरी नायव निरीक्षक दुई, प्रहरी सहायक निरीक्षक आठ, प्रहरी हवल्दार १४, प्रहरी जवान एक सय २७ र प्रहरी परिचर दुईजना गरी एक सय ५५ जना छन् । काठमाडौं उपत्यकामा प्रहरी निरीक्षक एक, प्रहरी नायव निरीक्षक एक, प्रहरी सहायक निरीक्षक ६, प्रहरी हवल्दार नौ, प्रहरी जवान ७२ र परिचर एक गरी ९० जना छन् ।
अधिकारकर्मी चरण प्रसाईं महिला र पुरुष प्रहरी र सेना जुन सेवामा रहे पनि अधिकार समान हुने बताउँछन् । उनले राज्यले कुनै पनि महिलालाई महिला भएकै कारण उसले गर्ने काममा समस्या छ भने समाधानको उपाय खोज्नुपर्ने बताए ।
सडकमा खटिएका महिला ट्राफिकका समस्या समाधानको उपाय चोकचोकमा सार्वजनिक शौचालय निर्माण, घुम्ती शौचालयलाई सडकमा गुडाइरहने, सवारीसाधनको तुलनामा ट्राफिकको सङ्ख्या थप गर्दै जानुपर्छ । त्यसका लागि प्रहरीसँग पर्याप्त जनशक्ति, स्रोत र साधनको अभाव भएको प्रधान कार्यालय जनाउँछ । प्रधान कार्यालयका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) गणेश केसीका अनुसार जनसङ्ख्या वृद्धिको तुलनामा दरबन्दी थप गर्न नसक्नु नै समस्या भइरहेको छ । ट्राफिकमा सवारीको चाप वृद्धिअनुसार दरबन्दी थप गर्न सकेमा महिला ट्राफिकलाई केही सहजता दिन सकिने प्रवक्ता एसपी केसीको भनाइ छ ।
सरकारले देशभर दर्ता भएका सवारीसाधनलाई व्यवस्थित सञ्चालन गर्न अध्ययन गर्दै ट्राफिक जनशक्ति निर्धारण गर्नुपर्छ । जसका लागि प्रधान कार्यालयको ट्राफिक निर्देशनालयले पटकपटक आग्रह गरे पनि अध्ययन र दरबन्दी थप गर्न साधन तथा स्रोतकै कारण सम्भव नभएको प्रहरी प्रवक्ता एसएसपी केसी बताउँछन् ।