काठमाडौँ, १८ भदौ । काठमाडौँ महानगरपालिकाको महत्वकाक्षी योजनामा पर्ने काठमाडौँ भ्यू टावर (दृश्यावलोकन स्तम्भ) को निर्माण सुस्त रहेको छ ।
निर्माण शुरु भएको पाँच वर्षमा सम्पन्न गर्ने गरी सम्झौता भए पनि तीन वर्ष बित्दा समेत निर्माणले गति लिन सकेको छैन् । अहिलेसम्म स्तम्भ निर्माणको काम जम्मा १५ प्रतिशत मात्रै सम्पन्न भएको कामपाले जनाएको छ । सो स्तम्भको अहिले जमीनमुनिको तलामा काम भइरहेको कामपाको निजी साझेदारी एकाई प्रमुख धु्रव काफ्लेले बताए । उनका अनुसार अहिले जमीनमुनिको काम ९० प्रतिशत सकिएको छ भने त्यसमाथि काम हुन सकेको छैन ।
विगत तीन वर्षमा काम सुस्त भएको भन्दै उनले कामको गति नबढाउने हो भने तोकिएको समयभित्र (आगामी दुई वर्षभित्र)सम्पन्न नहुने देखिएको बताए । उनले भने, “ठेकेदार कम्पनीले कामको गति बढाउँदा मात्रै समयमै सकिन्छ ।”
बाह्र तले भवनमा जमीनमुनिको तलामा विदेशी कामदारले काम गरिरहेको उनले बताए । त्यसभन्दा माथिल्लो तलामा भने नेपाली जनशक्तिलाई नै काममा लगाइने बताइएको छ । उनले भने, “विदेशीमार्फत काम गराउँदा केही कठीन भए पनि माथिल्लो तलामा नेपालीले गराउँदा कामले गति लिनसक्छ ।”
स्तम्भको निर्माणमा ढिलाइ भएको भन्दै कामपाले स्तम्भको कार्यप्रगति बारे बुझ्न र थप निर्णयका लागि विज्ञ नियुक्त गरेर अध्ययन गराउने जनाएको छ । स्तम्भ निर्माण अपेक्षानुसार अघि बढ्न नसकेको कामपाका प्रवक्ता ईश्वरमान डङ्गोलले बताए । उनका अनुसार विसं २०७७ सम्ममा काम सम्पन्न गर्नुपर्ने भए पनि कामको गति हेर्दा समयमा सकिने नदेखिएको उनले बताए । अहिलेसम्म भौतिक प्रगति ज्यादै न्यून भएकैले कामको गुणस्तरलगायतका विषयमा अध्ययनका लागि स्वतन्त्र रुपमा विज्ञ नियुक्ति गर्न लागिएको उनले बताए ।
विज्ञ नियुक्तिको काम अन्तिमचरणमा पुगेको बताइएको छ । उनले भने, “विज्ञले अध्ययनपछि नै अहिलेसम्मको अवस्थाको जानकारी हुन्छ र हामी कसरी अघि बढ्ने भन्ने निर्णय गर्नेछौँ ।”
कामपाले नियुक्त गर्ने विज्ञले नै यहाँको भौतिक प्रगति कति सकियो र कति बाँकी छ र काम गुणस्तरीय छ÷छैन भनी अध्ययन प्रतिवेदन दिने प्रवक्ता डङ्गोलले बताए । कामपाले अहिले नै यसो गर्ने भन्ने निर्णय नगरेको र विज्ञले गरेको अध्ययनकै आधारमा कसरी अघि बढ्ने भनी निर्णय गर्ने बताइएको छ ।
सामुदायिक निजी साझेदारी (पीपीपी) मोडलबाट निर्माण शुरु गरिएको यो स्तम्भको शिलान्यास उपराष्ट्रपति नन्दबहादुर पुनबाट गर्नुभएको थियो । कामपाले विसं २०७३ मा यसको निर्माणका लागि जलेश्वर, स्वच्छन्द र विकोइसँग ठेक्का सम्झौता गरेको थियो । शुरु गरेको मितिले अहिलेसम्म हुनुपर्ने जति कामको प्रगति नदेखिए पनि पछिल्लो समय कामको गति केही बढेको पाइएको कामपाले जनाएको छ ।
सम्झौतानुसार ती कम्पनीले आफ्नो लगानीमा भवन बनाएर ३० वर्षसम्म चलाउन पाउने छन् । उक्त स्तम्भ निर्माणको योजना भूकम्पअघि नै आएको र भूकम्पपछि सरकारको निर्माणसम्बन्धी सरकारको नीति फरक हुँदा केही समय काम गर्ने वातावरण थिएन । अहिले भने काम गर्न कुनै पनि अवरोध नरहेको प्रवक्ता डङ्गोलले बताए । निर्माण कम्पनीले कामपालाई शुरुको समयदेखि नियमित रुपमा बुझाउनुपर्ने सम्झौता रकम भने दिइरहेको छ ।
उक्त कम्पनीले वार्षिक रु ९८ लाख कर कामपालाई बुझाउँदै आएको छ । विसं २०७२ को भूकम्पभन्दा पहिले सो स्तम्भ २९ तला बनाउने निर्णय भएपनि भूकम्पपछि भवन निर्माणको मापदण्ड फेरबदल भएर १२ तले भवन बनाउने निर्णय भएको थियो । भूकम्पपछि नै भवन पूर्णरूपमा भूकम्प प्रतिरोधात्मक बनाउने निर्णय भएको थियो । स्तम्भ निर्माणको लागत रु तीन अर्ब ५० करोड पुग्ने अनुमान गरिएको छ ।
स्तम्भको सबैभन्दा तल्लो तलामा बसको पार्किङस्थल रहनेछ । त्यसको माथि दोस्रो तलामा हलुका गाडीको पार्किङस्थल, व्यवस्थित चलचित्रघर, पौडी पोखरी, खाजाघर, बैंक तथा महानगरपालिकाको वडा कार्यालयसमेत रहनेछन् । कामपाले स्तम्भका लागि २३ रोपनी पाँच आना जग्गा छुट्याइएको छ । सो अग्लोघर नेपाली कलासंस्कृति झल्किने खालको हुनेछ । कूल क्षेत्रफलको ४० प्रतिशत भू–भागमा स्तम्भ बन्नेछ भने ६० प्रतिशत भाग खाली राखिनेछ । ६० प्रतिशत जग्गामा आकर्षक बगैँचा, बस्ने ठाउँ तथा विभिन्न मनोरञ्जनका सामग्री राखिने योजना छ ।
कामपा र ठेकेदार कम्पनीबीच भएको सम्झौतानुसार निर्माणपछि कम्पनीले वार्षिक रु दुई करोड ३५ लाख तिर्नुपर्ने हुन्छ । यो वार्षिक २ दशमलव ५ प्रतिशतका दरले बढ्दै जान्छ । तीन वर्षदेखि निर्माण शुरु गर्ने योजनाले गर्दा बस बिसौनीबाट आवतजावत गर्ने सवारी साधनलाई खुला मञ्चमा सारिसकिएको छ । बस बिसौनी जस्तो फराकिलो नभएको हुँदा मानिस खुला मञ्चमा खुम्चिएर आवतजावत गर्न बाध्य भएका छन् ।
दृश्यावलोकन स्तम्भमा निर्माण हुने बस बिसौनीबाट आगामी दिनमा काठमाडौँ उपत्यकाका विभिन्न १७ रुटमा चल्ने गाडी आवतजावत गर्ने बताइएको छ