अपडेट: कपन ग्याङफाइटमा १८ वर्षिय युवकले गुमाए ज्यान

काठमाडौं, १८ भदौ । काठमाडौंको कपनमा ग्याङ फाइटमा परि एक युवकले ज्यान गुमाएका छन् । मृत्यु हुनेमा खोटाङका १८ वर्षिय सञ्जय राई रहेका छन् ।

प्रहरीका अनुसार ग्याङ फाइटमा परि गम्भीर घाइते भएका राईको मंगलबार राति ज्यान गएको हो । उनको महाराजगन्जस्थित टिचिङ अस्पतालमा उपचारका क्रममा मृत्यु भएको महानगरीय प्रहरी परिसर टेकुका सूचना अधिकारी समेत रहेका डिएसपी होबिन्द्र बोगटीले बताए ।

मंगलवार राती अन्दाजी ९ बजेको समयमा युवाहरुबीच ग्याङ फाइट भएको बताइएको छ । प्रहरीका अनुसार ग्याङफाइटमा संलग्न २ युवालाई बुधबार बिहान पक्राउ गरिएको छ । ज्यानै लिने गरी झगडा भएको विषय के थियो भन्नेबारे प्रहरीले केहि बताएको छैन । घटनाको आवश्यक अनुसन्धान भैरहेको प्रहरीको भनाइ छ ।

अपडेट

कपनमा भएको ग्याङफाइटमा परी मृत्यु हुने सञ्जय राईलाई एक निर्माण कम्पनीका मालिकले कुटपिट गरी हत्या गरेको खुलेको छ । आफ्नो ठूलो समूह लिएर गएका ठेकेदार प्रेम राईले आफ्नै निर्माण कम्पनीमा काम गर्ने श्रमिक सञ्जयलाई हत्या गरेका हुन् । उनीहरुबीच लेनदेन विवादमा झगडा भएको र सोही क्रममा कुटपिट गरी सञ्जयको मृत्यु भएको बुझिएको छ ।

प्रहरीले घटनामा संलग्नको आरोपमा ठेकेदार प्रेम राईसहित अजय राई र सागर बस्नेतलाई गएराति नै नियन्त्रणमा लिएको छ । उनीहरूलाई प्रहरी वृत्त बौद्धमा राखेर छानबिन भइरहेको प्रहरीले जनाएको छ ।

Loading...