बागलुङ १७ै भदौ । उपल्लाचौरकी जमुना जिसीले १० वर्षअघि गाउँकै सहकारीबाट रु १० हजार ऋण लिएर बाख्रा पाल्न थालेकि थिईन । उनले बाख्रा पालेरै छोराछोरी पढाईन, घर खर्च चलाईन र केही तरकारी पनि फलाईन ।
कालिका महिला सहकारीमार्फत रु १० हजारको ऋण पत्याउन समस्या पर्ने जिसीले दशकमा लाखौँ ऋण पाउने क्षमता बनाएकि छन । नियमित बाख्रापालन गरेर उनले कमाइ मात्र गरिनन, सहकारीमा आबद्व सदस्य र सञ्चालकको मन पनि जितिन । समयमा ऋण तिर्ने कामले उनिप्रति विश्वास बढायो । उनको मेहेनतमा श्रीमान् खड्गबहादुर जिसीले पनि साथ दिए ।
“साहुको घरमा पुगेर ऋण माग्न कठिन हुन्थ्यो, आफ्नै सहकारीमार्फत काम गर्न सजिलो भयो”, उनले भनिन “दुई छोरी र एक छोरा हुर्काउन सहकारीको ऋणले साथ दियो ।” नियमित मेहेनत गरेकै कारण उनले ऋण चाहेजति पाउने भएपछि बाख्रापालन छाडेर भैँसीपालनको तयारी गरेकि छन । उनले भैँसी पालेर बजारमा दूध बिक्री गर्ने योजना बनाएको बताईन । “अब भैँसी पाल्ने योजना बनाएकी छु”, उनले भनिन “त्यसका लागि रु १० लाख बढी खर्च लाग्छ ।”
सहकारीबाट केही ऋण लिएर यसअघि कमाएको कमाइ त्यसमा मिसाउने उनको तयारी छ । सहकारीले पनि उनलाई विश्वास गरेकाले उद्यम गर्नका लागि साथ दिने अध्यक्ष पिङ्गला खड्काले बताए । “हामीले ऋण मात्र दिएका छैनौँ, महिलालाई उद्यमी पनि बनाएका छौँ”, खड्काले भने “अधिकारका लागि हामीले अभियान चलाएका छौँ ।” महिलाले आफ्नो अधिकार खोजी गर्दै उद्यमी पनि बनेका उनले बताए । आर्थिक क्रान्तिको लागि सहकारीले महिलालाई साथ दिने उनको भनाइ छ ।
जिसीलाई सहकारीले उत्कृष्ट ऋणीका रुपमा पुरस्कारसमेत दिएको छ । जिसीजस्तै सहकारीकै साथ पाएर १०० बढी महिलाले व्यवसाय चलाएका छन् । झण्डै ५०० महिला सदस्य भएको सहकारीमा हरेकले कुनै न कुनै उद्यम गरिरहेका सञ्चालकले बताएका छन् । व्यावसायिक गाई, भैँसी, बाख्रापालनसहित तरकारी खेती, पसल सञ्चालन र अन्य व्यवसायका लागि पनि ऋण प्रवाह गर्दा शतप्रतिशत असुली भएको खड्काले बताए ।
पछिल्लो समय उनीहरुले घरघरबाट विकृतिविरुद्धको अभियान पनि चलाउने गरेका छन् । छोराछोरीमा भित्रिएको विकृतिको समस्या समाधान गर्न उनीहरु लाग्न लागेका हुन् । छोराछोरीको दैनिकी बुझेर विकृतिमा लागेका भेटिए सुधार गर्ने योजनामा पनि उनीहरुले तयारी गरेको उनले बताए । तत्कालीन महिला तथा बालबालिका कार्यालयले गठन गरेको समूहबाट खोलिएको सहकारीबाट महिलाको बोल्ने क्षमता पनि विकास भएको अधिकारकर्मी लक्ष्मी जिसी कार्कीले बताए ।
“अधिकार खोज्दै आत्मनिर्भर व्यवसाय खोज्न सजिलो होस् भनेर महिला विकास कार्यालयले बीउ पूँजी दिएर थालेका थियौँ”, उनले भने, “अहिले सबैजना खुशी छन्, उद्यम गर्छन् र सचेत भएका छन् ।” घरपरिवारका सदस्यको आशमा बस्नुपर्ने महिलालाई आफ्नो कमाइ खाने अवस्था सिर्जना भएको उनले बताए ।