काठमाडौँ, १७ भदौ । तीजले बिदा माग्ने बित्तिकै दैलोमा अर्को नारीप्रधान चाडले ढकढक्याँउदछ, स्वागत छ यो ऋषि पञ्चमीको दिन विशेषमा । तीजको व्रत पछि फेरि दिदिवहिनी अनि आमाहरुले आजको दिन पुनः त्यहि उत्सर्ग र उत्साहकासाथ मनाउने दिन हो ‘ऋषि पञ्चमी’ ।
हरियाली मौसममा जताततै हरियाली अनि भिजेका माटाहरु छन्, बादलहरु थोपाथोपा मा पग्लिरहेका छन् अनि जलको स्पर्शले माटोहरु पुलकित भएका छन् । रातो सारी, गरगहना अनि नारी भेलाहरुले चोक चौराहा अनि मठमन्दिरहरु खचाखच छन् । आज ऋषि पञ्चमी, अर्थात् नारीहरुले सप्त ऋषिहरुको पूजा अर्चना गर्ने विशेष दिन ।
आजको दिन रजस्वाला हुन शुरुभइसकेका महिलाहरुले रजस्वाला हुँदा आफूबाट केही गल्ति या अमर्यादित क्रियाकलाप भएको भए ती कुराहरुको शुद्धाशुद्धिकालागि पूजा अर्चना गर्ने दिन हो । मानव श्रृष्टि नारीहरुविना संभव छैन र हामीले रजस्वालालाई जत्तिकै लुकाएर अनि छुवाछुत उन्मुख सोंचले हेरेपनि श्रृष्टिको प्रथम र पूण्य गुणनै नारीहरुको रजस्वाला हो । रजस्वाला नारीहरुको गर्भाधान गर्नसक्ने क्षमताको प्रतिक अनि उनीहरूमा हुने एउटा नितान्त प्राकृतिक प्रक्रिया हो ।
ऋषि पञ्चमीको इतिहास हजारौं वर्ष पुरानो छ र त्यतिकै पुरानो छ वैदिक सनातन संस्कारले नारीहरुको यौन तथा प्रजजन स्वास्थ र अधिकारलाई दिएको महत्वको इतिहास । नारीलाई रजस्वालाको दिनहरुलाई चारवटा देवीहरु अनुरुप तुलना गर्ने चलन छः प्रथम दिन चण्डालनी, दोश्रो दिन ब्रह्मधातिनी, तेश्रो दिन धोबिनी र चौंथो दिन स्नान गरि शुद्ध हुने चलन छ ।
शास्त्रहरुले पनि रजस्वाला र महिलाहरूको यस प्राकृतीक गुणप्रति समस्त मानव जगतको ध्यानाकर्षित गर्न ऋषि पञ्चमीको परिकल्पना गरेको हुनपर्दछ । गर्भाधान नभएका डिम्बहरु महिलाको गुप्ताङ्गबाट निष्काषित हुने सरल र सामान्य प्रक्रियानै रजस्वाला हो । यसलाई कुनै दोष भन्दा पनि एउटा विशेष क्षमता र श्रृष्टिको कारकका रुपमा अभिब्यक्त गर्दै आजका दिनमा रजस्वालालाई नितान्त सामान्य अनि छुवाछुत भन्दा पनि सरसफाईलाई प्राथमिकता दिंदै, महिलाहरुलाई यस अवधिभर आराम र ख्याल गर्ने वातावरण सृजनाको प्रतिबद्धता कायम गर्न जरुरी छ । नारीहरु भनेको माया र शक्तिका प्रतिमुर्तीहरु हुन र देवीहरु हुन त्यसैले त शास्त्रले पनि नारीलाई यसरी वर्णन गरेको छः
या देवी सर्वभूतेषु शक्तिरूपेण संस्थिता।
नमस्तस्यै नमस्तस्यै नमस्तस्यै नमो नमः॥
या देवी सर्वभूतेषु ज्ञानरूपेण संस्थिता।
नमस्तस्यै नमस्तस्यै नमस्तस्यै नमो नमः॥
या देवी सर्वभूतेषु एश्वर्यरूपेण संस्थिता।
नमस्तस्यै नमस्तस्यै नमस्तस्यै नमो नमः॥
शत्तिका रुपमा सर्वब्यापी अनि जगतमा सम्पूर्ण कुरामा रहेकी नारीलाई हाम्रो हार्दिक नमन । महिनावारीलाई छुवाछुतसँग तुलना गरिएको शास्त्रीय कथनको अपव्याख्या हो भन्ने प्रष्ट छ । महिनावारीको समयमा पर्याप्त आराम होस् भनेंर परापूर्व कालमा भान्सा अनि अन्य कामहरु गराउन निषेध गरिएको हो । पछि गएर यो निषेधलाई छुवाछुत अनि दोषका रुपमा लिन थालिएको हो । स्मरण रहोस् नारीहरुको रजस्वालाको रगत नै जगतको आधार हो, श्रृष्टिको सार यहीँबाट त हुरु हुन्छ ।
आजको दिन नारीहरुले उपमार्ग अर्थात् एउटा विशेष प्राकृतीक जडिवुटी गुण यूक्त वनस्पतिको प्रयोग गरेर विहान आफ्नो नित्यकर्म सकाएपछि दात माँज्ने र चपाउने गर्दछन, उपमार्ग नेपाली माटोमा सहज रूपले उपलब्ध एउटा वनस्पति हो । संस्कृत शब्द उपमार्ग भन्नाले रोग नाशक भन्ने बुझाउँदछ । १०८ वटा उपमार्गका डाँठका टुक्राहरुको प्रयोग गरेपछि आफ्नो शरीरमा माटोको प्रयोग गरेर नारीहरुले नजिकैको खोलानाला या तालतलैयामा गएर स्नान गर्ने गर्दछन । स्नान गरिसकेपछि पञ्चभाग्य अर्थात दूध, दहि, घ्यू, दुवो, कुश र गोवर मिसाएर तामाको भाडोमा राखिएको कुराको एक वा दुइ थोपा सेवन गर्ने सनातन चलन पनि चलि आएको छ ।
पञ्चभाग्यको सेवनले क्षयरोग अनि चर्मरोगहरु नहुने र भएको भए पनि निको हुने विश्वास रहेको छ । यसरी विहानै स्नान गरेर शरीर र आत्माको शुद्धि गरिसकेपछि नारीहरुले दियो, कलश अनि गणेश स्थापित गरेर विभिन्न भजन र प्रार्थनागर्दै कश्यप, आरती, भार्गदोज, विश्वमित्र, गौतम, जमदग्नी अनि वशिष्ठलगायतका ऋषिहरुको पूजा र आव्हान गर्ने गरिन्छ । त्यस्पश्चात् ब्राम्हणले रितिअनुसार पूजा अर्चना गरेपछि मात्र ऋषि पञ्चमीको अनुष्ठान पूर्ण हुन्छ ।
आजका दिन काठमाण्डौ टेकुको ऋषेश्वर मन्दिर लगायत देशभरिका विभिन्न ऋषि आश्रमहरुमा विशेष घूँइचो लाग्नेगर्दछ । यस दिन नारीहरुले आफ्नो शौभाग्यका सुचक सिन्दुर पोते अनि चुरा धागोहरु चढाउने चलन पनि छ । आजको दिन विशेषतः माटोमा कसैले नरोपेरै आफै प्राकृतिकरुपमा उम्रिएका कुराहरु जस्तै कर्कलालगायतका अन्य कन्दमुलको विशेष तरकारी बनाई सेवन गर्ने चलन छ ।
वैदिक सनातन हिन्दु संस्कारको वैज्ञानीक चाडहरुमध्ये एक ऋषि पञ्चमीको शुभकामना । अबका दिनमा छुवाछुत र छौपडीका कारणले चेलीबेटीले दुःख पाएको अनि मृत्यूवरण गरेका नमिठा खबरहरु सुन्न नपरोस्, यस जगले रजस्वालाको महत्व चालपाओस् । सप्तऋषिहरुको कृपा सदैव रहोस्, सबैजना सुखी होउन्, सबैको जय होस् !
मङ्गल चौथी
हिन्दु संस्कारमा मानिसहरुले कुनै पनि कार्य गर्दा बिध्न बाधा उत्पन्न नहोस् भनेर काम थालनी गर्नु भन्दा पहिले सबैले भगवान श्री गणेशको आराधना र स्मरण गर्दछन्। भगवान श्री गणेशलाई मङ्गलकारक देवताका रूपमा पूजा गर्ने चलन छ। आज मङ्गलवारलाई भगवान् गणेशको दिनको रुपमा मान्ने चलन पनि छ। यिनै भगवान गणेशको जन्म तिथि चतुर्थी पर्ने भएकाले आजको दिनलाई मङ्गल चौथी भनेर विशेष पुजा आराधना गरेर मनाइने चलन रहेको छ। मङ्गलवार भगवान् गणेशको व्रत बस्ने व्रतालुहरुले आजकै शुभ दिन बाट व्रत प्रारम्भ गर्ने गरेको पाइन्छ।
भगवान् गणेश शुभफल प्रदान गर्ने देवताको रुपमा चिनिन्छन्, आजको दिन श्रद्धा पुर्वक श्री गणेशको व्रत लिनाले गणेश भगवान प्रशन्न भइ व्रतालुहरुलाई चिताएको फल प्रदान गर्ने धार्मिक मान्यता रहेको छ। यदि यहाँहरुलाई पनि कुनै नयाँ कार्यको श्री गणेश गर्नुपर्नेछ भने आजको दिन अति शुभ मानिन्छ। विघ्न हर्ता तथा सिद्धि दिने सिद्धि विनायक विशेष आजको दिन सबैको मङ्गलमय होस्।
मङ्गल चौथी पूजा विधि
– ज्यो पं नारायणप्रसाद दुलाल
विघ्नेश्वराय वरदाय सुरप्रियाय, लम्बोदराय सकलाय जगद्धिताय
नागाननाय श्रुतियज्ञविभुषिताय, गौरीसुताय गणनाथ नमो नमस्ते
विघ्नेश्वर, वर दिनेवाला, देवताहरूकोपनि प्रिय, लम्बोदर, कलाहरूले परिपूर्ण, जगतको हित गर्ने वाला, हात्तिको समान मुख वाला र वेद तथा यज्ञबाट सुशोभित यस्ता पार्वती पुत्रलाई नमस्कार छ, हे गणनाथ , हजुरलाई नमस्कार छ । किलौ चण्डी विनायकौु उक्ति अनुसार कलियुगमा चण्डी दुर्गा र विनायक गणेशजी प्रधान एवं प्रथम पुज्य छन् अतस् माता दुर्गाभवानी र विघ्नहर्ता गणेशजी भगवानको महिमा हाम्रो शस्त्राहरुमा वर्णितै छ । विघ्नहर्ता गणेशजी भगवानलाई खुशी पार्नसके धर्म, अर्थ, काम र मोक्ष यी चार पुरुषार्थको प्राप्तिहुनेकुरा गणेश पुराणमा वर्णन गरिएकोछ ।
मंगलवारको दिन चौथी तिथी परो भने गणेशजीलाई प्रसन्न पार्न मंगलचौथी पर्व मनाइनुका साथै गणेशजीको पूजा, आराधना, ब्रत प्रारम्भ सहित उद्यापन यस दिन गर्ने गरिन्छ । जसले यसदिन ऋद्धि सिद्धि सहित गणेशजीको पूजा, पाठ, व्रत, कथा एवं आरधना गर्दछ उसले धन, पुत्र, जीवनसाथी, मंगलग्रहको शुभफल र ममानसिक शान्ति पाउने र सबै प्रकारका दुख९कष्ट र विघ्नबाधाआदि सबै प्रकारका दुख हराउने हुनाले यसदिन बिहान नित्यकर्म गरेर शुद्ध चित्त भई पूजन सामग्री तयार गर्नु पर्दछ जसमध्ये धान, चामल, जऊ, तिल, कुश, दुना, टपरी, पञ्चामृत, अविर, केशरी, सिन्दुर, रातो अक्षता, शौभाग्य, शृङ्गार, नरिवल, फलफूल, पकवान्न, धूप, बत्ति, कपुर, रातोफूल, माला, लड्डु, दुबोआदि सरजाम तयार गरेर पूर्व, उत्तर या पश्चिम फर्किएर शुद्ध आसनमा बसी दिप प्रज्वलन गरी दियोको आवाहन गरेर त्यसपछि दाहिने हातमा जौ, तिल, पानि, फूल, कुश या दुबो र द्रब्यसहित लिएर संकल्प अर्थात् स्थान र समय उच्चारण गर्दै आफ्नो गोत्र नाम सहित परिवार तथा बन्धु बान्धबहरूको नाम उच्चारण गर्दै सकाम वा निष्काम भावले संकल्प लिनु पर्दछ ।
संकल्प पश्चात् अर्घ स्थापनागरी विघ्नहर्ता गणेश भगवानको ध्यान तथा आवाहन सहित ॐ गं गणपतये नमस् भन्दै सबै उपचारले पूजा गरिसके पछि धुप, दिप, फल, प्रसाद, दक्षिणा गर्दै गणेशजीको पूजा गर्ने र इशानकोणमा रहेको वरुण कलशमा सम्पूर्ण ब्रह्माण्डका देवी देवताहरूको आवाहनगरी कलशभित्र पञ्चरत्न। पञ्चपल्लव, सर्वोषधिआदि राखेर कलशमाथी पूर्णपात्र राख्ने र पूर्णपात्रमाथी नरिवल, सुपाडी वा सिन्गोफल राखेर सबै उपचारले पूजागर्दै धुप, दिप, नैवेद्य, दक्षिणा गर्दै पुष्पाञ्जली अर्पण गर्नु पर्दछ । पुनस् बिचमा गणेशजीको प्रतिमा वा मुर्ति राख्ने र गणेशजीको विशेष पूजनकोलागि हातमा रातोफूल रातो अक्षतालिएर ध्यान गर्दै सकिन्छ भने यो पढेर मात्र ध्यान गर्ने
वक्रतुंड महाकाय कोटिसूर्यसमप्रभस् ।
निर्विघ्नं कुरु मे देव सर्वकार्येषु सर्वदा ।।
यो मात्र सहित गणेशजीलाई रातो फूल अक्षता सहितले आवाहनगर्ने र कुशको आसन राखिदिने, ॐ गं गणपतये नम स् भन्दै पाद्य, अर्घ, आचमनी, दुध, दही, घ्यू, मह, चिनी तथा पञ्चामृतले स्नान गराउनु पर्दछ तत्पश्चात् शुद्ध जलले स्नानगराई गणेशजीलाई आफ्नो गच्छे अनुसार श्रद्धा एवं भक्तिले जनै, चन्दन, टिका, रोली, सिन्दुर, अक्षता, वस्त्रआदि चढाउनु पर्दछ तत्पश्चात जौ, तिल, फूल, माला, दुबो, बेलपत्र सहित सम्पूर्ण उपलब्ध उपचारले पूजा गर्दै गणेशजीलाई ॐ गं गणपतये नमस् भन्दै अङ्ग पूजनगरि धूप, दिप, नैवेद्य, लड्डु, फलफूल, पान, सुपारी, नरिवल, द्रव्यदक्षिणा अर्पणगरि रातो फूल हातमालिई प्रार्थना गर्दै पुष्पाञ्जली गर्नु पर्दछ ।
तत्पश्चात् सम्पूर्ण उपस्थित भक्तहरुले गणेशजीको निराजन आरति सङ्ख, घण्ट सहित श्रद्धा एवं भक्तिले गर्नुपर्दछ पुनस् पुष्पाञ्जली गरेर आरतिलाई सितलगरि सबैजनाले आरतिलिनु पर्दछ र आफ्नो मनोकामना पूर्णहोस् भनि विघ्नेश्वर गणेशजीलाई साष्टाङ्ग प्रणामगरि आशिर्वाद लिई प्रसाद ग्रहण गर्नु पर्दछ । यसरी श्रद्धा र भक्तिले गरिएको पूजाबाट गणेशजी प्रसन्न भई भक्तहरूको मनोकामना अवस्यनै पुरा गर्नुहुनेछ ।