दमक, १६ भदौ । महान्यायधिवक्ता अग्नि खरेलले नेपाल भारतबीच ऐतिहासिक तथा धार्मिक सुमधुर सम्बन्ध रहेको बताएका छन ।
झापाको गौरादह नगरपालिका–५ को स्कूलचौन माध्यमिक विद्यालयको नवनिर्मित भवनको उद्घाटन कार्यक्रममा उनले नेपाल भारतबीच ऐतिहासिक, सामाजिक, धार्मिक, भौगोलिक र सांस्कृतिक रूपमा एकापसमा नजिकको सम्बन्ध रहेकाले आपसी सद्भाव कायम राख्न आवश्यक रहेकोमा जोड दिए ।
सो विद्यालयको नयाँ भवन विसं २०७० मा तत्कालीन भारतीय राजदूत रञ्जित रेले शिलान्यास गरेका थिए । महान्याधिवक्ता खरेल र भारतीय राजदूत मञ्जिभ सिंह पुरीले संयुक्तरुपमा नवनिर्मित भवन उद््घाटन गरेका थिए ।
भवनको उद्घाटनका क्रममा नेपालका लागि भारतिय राजदूत पुरीले नेपालमा रहेका विद्यार्थीको उज्ज्वल भविष्यको कामना गर्दै पठन पाठनमा सहजताका लागि भारत सरकारले भवन निर्माणमा सहयोग गरिआएको बताए ।
देश बनाउने युवालाई गुणस्तरीय शिक्षा प्रदान गर्न सके मात्र मुलुकको भविष्य उज्ज्वल हुने उनले सुझाव दिए । पुरीले भने, “देशको विकासका लागि शिक्षा पहिलो आधार भएकाले त्यसतर्फ विद्यार्थीले लक्ष्य निश्चित गरेर अध्ययनमा जोड दिनुपर्छ ।”
भारत सरकार नेपालीको समृद्धिको यात्रामा हर क्षेत्रमा सहयोग गर्न तयार रहेको बताउँदै उहाँले भारत सरकारले यसवर्ष मात्र नेपाललाई १४ वटा एम्बुलेन्स प्रदान गरेको तथा शिक्षण संस्थाका भवनहरु निर्माण गर्नुका साथै यातायातका साधनहरुसमेत उपलब्ध गराएको बताए ।
विसं २०२१ मा स्थापना भएको विद्यालयमा हाल कक्षा १२ सम्म अध्यापन भइरहेको र एक हजार १४० विद्यार्थीहरुले अध्ययन गरिरहेका विद्यालयका अध्यक्ष नेत्रबहादुर थापाले जानकारी दिए । उहाँले राजदूतसमक्ष विद्यालयमा दूरदराजबाट आउने विद्यार्थीहरुका लागि बसको व्यवस्था गरिदिनसमेत माग गरे ।
झापा जिल्ला समन्वय समितिमार्फत भारतीय राजदूतावासको सहयोगमा सो विद्यालयको ३३ कोठे भवन बनेको हो । विद्यालयको भवन निर्माणमा रु तीन करोड ९१ लाख १९ हजार ९७३ खर्च भएको जिसस झापाले जनाएको छ ।
विसं २०७० पुस १८ गते काम थालेर २०७२ वैशाख मसान्तसम्ममा भवन बनाइसक्ने गरी भक्तपुरको श्यामसुन्दर राम जेविले निर्माणको ठेक्का सम्झौता गरेका थिए । तर, निर्माण व्यवसायी कम्पनीले निर्धारित समयमा भवनको निर्माण सम्पन्न गर्न सकेन । छ पटकसम्म म्याद थपेर सात महीनाअघि मात्र भवनको निर्माण कार्य सम्पन्न गरिएको थियो ।