महिलाहरु उत्पादनशील क्षेत्रमा लाग्नुपर्छ : मन्त्री पुन

गलकोट, १६ भदौ । गण्डकी प्रदेशका सामाजिक विकासमन्त्री नरदेवी पुनले महिलाहरु उत्पादनशील क्षेत्रमा जोडिनुपर्ने बताएका छन ।

बागलुङ जिल्लाको गलकोट नगरपालिका–७ मल्मस्थित नाच्नेडाँडा संरक्षण समाजले आज आयोजना गरेको तीज महोत्सवमा मन्त्री पुनले आमाहरुलाई शिक्षित बनाएर उत्पादनमा जोड्न प्रदेश सरकारले पहल गरिरहेको बताउँदै उत्पादनशील क्षेत्रमा नजोडिएसम्म आर्थिक विकास नहुने बताए । उहाँले गण्डकी प्रदेश सरकारले सुत्केरीको हेलिकप्टरमार्फत उद्धार गर्नाले महिलाको बाच्न पाउने अधिकार सुनिश्चित गरेको बताए ।

उहाँले आगामी वर्ष प्रदेश सरकारले महिला तथा बालबालिकाको स्वास्थ्यलाई मध्यनजर गर्दै महिला तथा बाल अस्पताल निर्माण गर्ने योजना रहेको बताए । “आमा शिक्षित भए छोराछोरी शिक्षित हुन्छन्”, मन्त्री पुनले भने, “आमालाई शिक्षित बनाउने खालका कार्यक्रम ल्याउन प्रदेश सरकार प्रयत्नशील छ ।”

मन्त्री पुनले हरितालिका तीजले महिलाहरुको आपसी सद्भाव बढाइ संस्कृतिको संरक्षण गर्न सहयोग पुगेको भन्दै तीजलाई भड्किलो बनाउन नहुने सुझाव दिए । तीजको संरक्षण गर्न नाच्नेडाँडा संरक्षण समाजले वर्षेनी तीज विशेष कार्यक्रम गर्दै आइरहेको नाच्नेडाँडा संरक्षण समाजका अध्यक्ष कोपिला बस्नेत खड्काले बताए ।

आइतबार शुरु भएको महात्सव आज सकिएको छ । मन्त्री पुन नेपाल कम्युनिष्ट पार्टी ९नेकपा० गलकोट नगर कमिटीले आयोजना गरेको कार्यकर्ता भेटघाट कार्यक्रममा समेत सहभागिता हुनुभएको थियो । यस्तै मन्त्री पुनले गलकोट नगरपालिका–९ स्थित भैरव माध्यमिक विद्यालयको समेत निरीक्षण गर्नुभएको थियो ।