प्रदेश नं १ मा तीन दिन संविधान दिवस मनाइने

विराटनगर, १६ भदौ । प्रदेश नं १ को सरकारले संविधान दिवस भव्य र व्यापक जनसहभागितासहित तीन दिन मनाउने निर्णय गरेको छ । प्रदेशका मुख्यमन्त्री शेरधन राईको सभापतित्वमा आज बसेको बैठकले असोज २, ३ र ४ गते विभिन्न कार्यक्रमको आयोजना गरी भव्यरुपमा संविधान दिवस मनाउने निर्णय गरेको छ ।

संविधान दिवसका उपलक्षमा प्रदेशका १४ जिल्लाका सदरमुकाम र सीमा क्षेत्रमा ठूलो एकै आकारको राष्ट्रिय झण्डा राख्ने, प्रदेशका सम्पूर्ण सरकारी, स्थानीय निकाय र संस्थानमा राष्ट्रिय झण्डा राख्ने, प्रदेशमा बस्ने जातजातिको मौलिक पहिरनसहित प्रतिस्पर्धात्मक झाँकी प्रदर्शन, दीपावली, सरसफाइ, वृक्षारोपण, ज्येष्ठ नागरिकका घरमा र अस्पतालमा फलफूल वितरण, रक्तदान, संविधानको विशेषता सम्बन्धमा पत्रपत्रिकामा लेख, टिभी र रेडियोमा सम्वाद प्रशारण गर्ने निर्णय गरिएको छ ।

यसैगरी प्रभातफेरी, नेपाल टेलिकमबाट संविधान दिवसका शुभकामनाका छोटा सन्देश प्रवाह गर्ने, नेपालको संविधानको पुस्तक अङ्कित शिलालेख तयार गरी प्रदेशसभा भवन सचिवलय अगाडि र मुख्यमन्त्री कार्यालय आगाडि राख्ने, सर्वसाधारणलाई संविधान दिवस मनाउन अपिललगायतका कार्य गरिने भएको छ । यसैगरी मुलुकको नाम विश्वस्तरमा फैलाएकामा राष्ट्रिय गानका रचयिता व्याकुल माइला, ९प्रदीपकुमार राई०, २४ पटक सगरमाथा आरोहण गर्ने कामीरिता शेर्पा र अल्ट्रा एथलेटिक्सका खेलाडी मीरा राईलाई सम्मान गरिने भएको छ ।

दिवस भव्यरुपमा सम्पन्न गर्न मुख्यमन्त्री राईको संयोजकत्वमा ३३ सदस्यीय मूल समारोह समिति र आन्तरिक मामिला तथा कानूनमन्त्री हिक्मतकुमार कार्कीको संयोजकत्वमा प्रचारप्रसार उपसमितिलगायत अन्य उपसमिति गठन गरिएको छ ।