मालपोत कार्यालयमा अनलाइन सेवा शुरू

रसुवा, १५ भदौ । जग्गा जमीन खरीद बिक्रीसम्बन्धी कारोवारको सेवा छिटोछरितो प्रदान गरी अभिलेख व्यवस्थित र सुरक्षित पार्न यहाँस्थित मालपोत कार्यालयमा आजबाट पहिलो पटकअनलाइन सेवा शुरु गरिएको छ ।

उक्त अनलाइन सेवाको भूमि व्यवस्थापन तथा अभिलेख विभागका महानिर्देशक गोकर्णमणि दुवाडीले उद्घाटन गरेका थिए। मालपोत कार्यालयका प्रमुख गणेश श्रेष्ठका अनुसार नयाँ आर्थिक वर्षको शुरूआतसँगै अनलाइन सेवा सञ्चालन गर्ने नीति र निर्देशन भए पनि सेवा सञ्चालनको आन्तरिक व्यवस्थापनका कारण केही ढिलाइ हुनगएको हो ।

अनलाइन सेवाले भूमिको स्वामित्व, खरीद बिक्री गर्न आउने सेवाग्राहीको काम छिटोछरितो हुने, दिनेलिने दुवै सेवाग्राहीको फोटो, लेप्चे तथा दस्तखत कम्प्युटरमा समेत रहने भएकाले बढी भरपर्दो र विश्वस्नीय हुने बताइएको छ । जग्गाको कारोवारसम्बन्धी प्रतिलिपि माग भएमा सरोकारवालाले माग गरेको केही मिनेटमै उपलब्ध गराउन सहज भई भण्डारणका लागि पोका पारिराखेका अभिलेख खोज्ने कामको झन्झन्ट बन्द हुने, जग्गाधनी प्रमाणपुर्जाको ढड्डाका कुनै अङ्क वा अक्षर नष्ट भएमा कम्प्युटरको अभिलेखबाट कार्यसम्पादनमा सहज हुने मालपोतका कर्मचारीले बताएका छन् ।

Loading...