भारतमा छेपारो तस्करी गर्ने दुई जनालाई सशस्त्रका जवानले समाते

काठमाडौं । भारतमा छेपारो तस्करी गर्ने दुई जना नेपाली पक्राउ परेका छन् ।

टोक्यो जेको नामक प्रजातिको जीव (छेपारो) को तस्करी गरेको आरोपमा झापाका ५८ वर्षिय मोहनलाल क्षेत्री र ४८ वर्षिय ठाकुरप्रसाद गौतम पक्राउ परेको भारतीय सीमा सुरक्षा बल (एसएसबी)ले जनाएको छ ।

पश्चिम बंगालको दार्जिलिङ जिल्लास्थित नक्सलबारीबाट पानी ट्यांकी–काँकडभिट्टा नाकातर्फ आइरहेका उनीहरूलाई गोप्य सूचनाको आधारमा एसएसबीले पक्राउ गरेको जनाइएको छ । सशस्त्र सीमा बलको ४१ औं बटालियनका जवानहरूले भारत–नेपाल सीमा पानीट्यांकीबाट तस्करी गरिरहेको टोकेसहित पक्राउ गरेका हुन् ।

ई–रिक्सामा सवार उनीहरुलाई रोकेर खानतलासी लिँदा एक ब्यागभित्र प्लास्टिकको बट्टामा राखिएको अवस्थामा टोके बरामद गरिएको बताइएको छ । बरामद गरिएको टोके वन विभागमा र पक्राउ परेका क्षेत्री र गौतमलाई खोरीबारी प्रहरी चौकीमा सुम्पिएको एसएसबीले जनाएको छ । उनीहरुमाथि थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ।

Loading...