पर्वत १४ भदौ । गण्डकी प्रदेश सरकारले घोषणा गरेको पर्यटन वर्ष २०१९ देखि २०२२ सम्मलाई सफल बनाउन जिल्लास्तरीय पर्यटन प्रवद्र्धन उपसमिति गठन गरिएको छ ।
जिल्ला समन्वय समितिका प्रमुख मनोहरवी पौडेलको अध्यक्षतामा नौ सदस्यीय पर्यटन प्रवद्र्धन उपसमिति गठन गरिएको हो । उपसमितिका सदस्यमा जिल्ला समन्वय समितिका उपप्रमुख यामकुमारी राना, प्रमुख जिल्ला अधिकारी कल्पना घिमिरे नेपाल, पर्वत उद्योग वाणिज्य सङ्घका अध्यक्ष केदारनाथ शर्मा, जिल्ला समन्वय अधिकारी चिरञ्जीवी सापकोटा, होटल व्यावसायी कृष्णप्रसाद श्रेष्ठ, धार्मिक एवं पर्यटन सङ्घ संस्थाका तर्फबाट पृथ्वीनारायण शर्मा, नेपाल पत्रकार महासङ्घका पूर्वअध्यक्ष दुर्गाप्रसाद शर्मा र घरबास सञ्चालकका तर्फबाट पञ्चकोशी होमस्टेका सुशीलादेवी गुरुङ रहेका छन् ।
यसअघि आयोजित शुक्रबार आयोजित कार्यक्रममा उद्योग पर्यटन वन तथा वातावरणमन्त्री विकास लम्सालले ग्रामीण पर्यटनको विकासबाट प्रदेशका समृद्धि हासिल गर्न सकिने गरी कार्ययोजना बनिरहेको बताए । उनले आगामी तीन वर्षलाई तीन चरणमा विभाजन गरेर बढीभन्दा बढी पर्यटक प्रदेशमा भित्र्याउने योजना रहेको बताए । उनले सन् २०१९ मा १५ लाख र सन् २०२२ सम्म २० लाख पर्यटक प्रदेशमा भित्र्याउने गरी कार्यक्रम लागू गरिएको बताए ।