लोकसेवा परिक्षामा कसरी लेख्ने ? हेर्नुहोस् लोकसेवामा लेख्ने प्राविधिक तरीका

काठमाडौं । नेपालमा सरकारी जागिरमा धेरैको आकर्षण रहेको छ । पछिल्लो समय देशभर लोकसेवाको तयारी गर्नेक्रम पनि बढेको छ । लोकसेवालाई नै लक्षित गर्दै धेरै देशका धेरै ईलाकामा इन्स्च्यूटहरु चलेका छन् । तर पनि धेरै जना अझै पनि लोकसेवाको उचित तयारी गर्ने अवसरबाट बञ्चित नै छन् ।

लोकसेवासहित सबै परीक्षा दिने परीक्षार्थीहरुको मनमा खट्किने कुरो भनेको राम्रो उत्तर कसरी लेख्ने भन्ने हुन्छ । प्रश्नको उत्तर आए पनि त्यसलाई लेख्ने तरिका मिलेन भने भनेको जति उत्तर नआउन पनि सक्छ । राम्रो उत्तर लेख्न केही आधारभूत कुराहरु बुझ्नै पर्ने हुन्छ ।

त्यस्ता प्रतिस्पर्धात्मक परीक्षामा धेरै पढेको र राम्रो ज्ञान भएकोभन्दा पनि राम्रो लेख्न सक्ने अर्थात् पढेको कुरालाई राम्रोसँग प्रस्तुत गर्न सक्ने उत्तरलाई जाँचकले नम्बर दिन्छन् । आफूले बुझेको कुरा राम्रो तरिकाले उत्तरपुस्तिकामा उतार्न सक्ने व्यक्ति नै आखिर सफल हुने गरेका छन् । नपढी त हुँदैन, तर पनि पढेर मात्र पनि सफलता हात नपर्न सक्छ ।

लोकसेवा आयोगलगायत प्रतिस्पर्धात्मक परीक्षामा प्रश्नले मागेका कुरा कसरी लेख्ने भन्नेबारे यहाँ केही प्राविधिक टिप्सहरु दिइएको छ ।उत्तर लेख्ने केही प्रभावकारी तरिकाहरु

१. प्रश्न गम्भीर भई पूरै पढ्ने, झुक्याउन खोजेको विषय, सन्दर्भ, पुच्छ्रे प्रश्न पत्ता लगाउनुपर्छ ।

२. प्रश्नको उत्तर सरसर्ती मनमनै सम्झनुपर्छ ।

३. कति लेख्ने हो, त्यसको आँकलन गरी भूमिका, निष्कर्ष आवश्यक पर्छ–पर्दैन, यकिन गर्नुपर्छ ।

४. सकेसम्म सफा र प्रस्ट अक्षरमा शुद्ध उत्तर लेख्नुपर्छ ।

५. उत्तर लेख्दा प्रयोग गरिने मुख्य चार विधिमध्ये उपयुक्त विधिको छनोट गरी संरचनात्मक उत्तर दिनुपर्छ ।

(क) व्यवस्था, प्रयास, समस्याका क्षेत्र, सुधारका उपायलगायत प्रश्नको उत्तर दिँदा तीनवटा उपशीर्षक बनाउनु उपयुक्त हुन्छ ।
(अ) नीतिगत व्यवस्था ः यसअन्तर्गत संविधान, कानुन, आवधिक योजना, क्षेत्रगत नीति र रणनीति, वार्षिक बजेट, सरकारको नीति तथा कार्यक्रम, अन्तर्राष्ट्रिय सन्धि–सम्झौता आदिलाई उल्लेख गर्नुपर्छ ।

(आ) संस्थागत व्यवस्था ः यसअन्तर्गत सरकारी क्षेत्र जस्तै– संघ, प्रदेश र स्थानीय सरकार, सोमातहतका मन्त्रालय, विभाग, आयोग, सचिवालय, परिषद्, केन्द्र, समिति, कार्यदल, परियोजना आदि उल्लेख गर्नुपर्छ ।

(इ) कार्यक्रम, व्यवहार र आचरणगत व्यवस्थाः सअन्तर्गत सञ्चालित परियोजना तथा कार्यक्रमहरू, दैनिक अभ्यास, वर्तमान आचरण र संस्कार, सरकारी, निजी तथा सामाजिक क्षेत्रबाट गरिएका सबै प्रयास समेटी उत्तर दिनुपर्छ ।

(ख) संकट, विपत्, द्वन्द्व, परिवर्तन व्यवस्थापन, वैदेशिक रोजगारीलाई प्रभावकारी बनाउने उपायजस्ता प्रश्नहरूको उत्तर समयक्रममा आधारित भई देहायका तीन उपशीर्षकमा लेख्दा राम्रो मानिन्छ :

(अ) वैदेशिक रोजगारीमा जानुपूर्व गर्नुपर्ने कामहरू,
(आ) वैदेशिक रोजगारीमा रहेका वेला गर्नुपर्ने कामहरू,
(इ) वैदेशिक रोजगारीबाट फर्किएपछि गर्नुपर्ने कामहरू,

(ग) भ्रष्टाचारका कारण, सुशासनका अवरोध, सेवा–प्रवाहका बाधा, दिगो विकासका आयामजस्ता प्रश्नको उत्तर देहायबमोजिमका उपशीर्षकअनुसार लेख्नु राम्रो मानिन्छ ः
(अ) राजनीतिक कारण
(आ) आर्थिक कारण
(इ) सामाजिक कारण
(ई) सांस्कृतिक कारण
(उ) प्राविधिक कारण
(ऊ) शासकीय कारण
(ए) मनोवैज्ञानिक कारण
(ऐ) वातावरणीय वा पर्यावरणीय कारण
(ओ) कानुनी कारण
(औ) व्यक्तिगत वा मानवीय कारण

(घ) संविधान, कानुन, योजना आदिबाट प्रश्न सोधेमा अगाडिबाट पछाडि जाने विधि वा उपशीर्षक निर्माण विधिबाट उत्तर लेख्नु राम्रो मानिन्छ ।

६. उत्तर लेख्दा सार्वजनिक रूपमा मानहानि हुने र गम्भीर आरोप लगाउने शब्दहरूको प्रयोग सकेसम्म गर्नु हुँदैन ।

७. तर्क वा राय दिनुपर्ने प्रश्नको उत्तर लेख्दा एउटै तर्क वा राय दिनुपर्छ ।

८. अनावश्यक रूपमा भूमिका र निष्कर्ष लेख्नु हुँदैन ।

९. उत्तर लेख्दा कमजोरी मात्र औंल्याउने, दोष मात्र देखाउने, प्रतिक्रिया मात्र दिने, नकारात्मक टिप्पणी मात्र गर्ने गर्नुहुँदैन ।

१०. सकारात्मक मनोवृत्तिसहित उत्तर लेखी जिम्मेवार व्यक्तिको झल्को दिन सक्नुपर्छ ।

११. उत्तरमा एउटै बुँदा दोहोयाउने वा फरक–फरक तरिकाबाट लेख्नु हुँदैन ।

१२. उत्तरले व्यापक दृष्टिकोण राखेको र समस्याको समाधान दिनेतर्फ उन्मुख भएको हुनुपर्छ ।

१३. अरूको भन्दा फरक तरिकाबाट विषयवस्तु प्रस्तुत गरी जाँचकीको ध्यान र मन जित्न सक्नुपर्छ ।