पुडासैनीको आत्महत्याबारे सिधा कुरामा बोल्न रविमाथि बन्देज

शालिकराम पुडासैनीको मृत्यु प्रकरणमा पक्राउ परेका चर्चित टिभी कार्यक्रम प्रस्तोता रवि लामिछाने अन्ततः रिहा भएका छन् । लामिछानेसहित तीनै जनालाई जिल्ला अदालत चितवनले रिहा गर्न आदेश दिएको हो ।

शालिकराम पुडासैनीको आत्महत्या दरुत्साहनको मुद्दा खेपिरहेका टेलिभिजन प्रस्तोता रवि लामिछानेले यसबारे कुनै पनि कार्यक्रम चलाउन भने नपाउने भएका छन् । साथै उनले विदेश जाँदा अदालतको स्वीकृती लिनुपर्ने जनाइएको छ ।

रविले आफू हिरासतबाट छुटेको ५ मिनेटमै निर्दोष सावित गर्ने बताएका कुराहरु बाहिर आइरहदा उनले यो सम्बन्धमा आफ्नो चर्चित कार्यक्रम ‘सिधा कुरा जनतासंग’मा भने कुनै जिकिर गर्न नपाउने भएका छन् । सयौ पिडितलाई कार्यक्रममार्फत सिधै न्याय दिएका रविले पुडासैनी प्रकरणमा आफूहरुको विषयमा भने बोल्न नपाउने भएका हुन् ।

शालिकराम पुडासैनीको आत्महत्या दरुत्साहनको मुद्दा लागेकोले उनलाई यस विषयमा सिधा कुरामा बोल्न बन्देज लगाइएको हो ।

जिल्ला अदालत चितवनमा थुनछेक बहसपछि न्यायाधीश हेमन्त रावलको इजलासले लामिछानेसँग ५ लाख, युवराज कँडेलसँग ३ लाख धरौटी माग गरेर रिहा गरेको हो । अर्की अभियुक्त अस्मिता भनिने रुकु कार्कीलाई भने साधारण तारेखमा रिहा गरेको छ ।

जिल्ला अदालत, चितवनका न्यायाधीश हेमन्त रावलको इजलासले रविसहित तीनै जनालाई रिहा गर्न आदेश दिएको हो । उनीहरु माथि प्रहरीले आइतबार पुडासैनीको आत्महत्या दुरुत्साहन गरेको कसूरमा मुद्दा दायर गरेको थियो ।

जिल्ला अदालत चितवनका रजिष्टार रुद्रमणि गिरीका अनुसार लामिछानेलाई ५ लाख, सञ्चारकर्मी युवराज कँडेललाई ३ लाख धरौटीमा रिहा गर्न आदेश दिएको छ । त्यसैगरी नर्स अस्मिता भन्ने रुकु कार्कीलाई भने अदालतले साधारण तारेखमा छाड्न आदेश दिएको छ ।

सरकारी वकिलको तर्फबाट गोपिलाल देवकोटा, राजकुमार श्रेष्ठ, स्वागत नेपाललगायत ८ जनाले बहस गरेका थिए भने प्रतिवादीको तर्फबाट सुशील पन्त, सुभाष पोखरेल र राजु थापाले बहस गरेका थिए ।

अदालतले रिहा गरे लगत्तै लामिछानेका शुभेच्छुक र आफन्तले खुशीयाली मनाएका हुन् । रविको पक्राउसँगै लगातार ११ दिनसम्म समर्थकहरुले चितवनमा विरोध प्रदर्शन गर्दै आएका थिए । उनको रिहाइसँगै समर्थकहरुले सामाजिक सञ्जालहरुमा पनि खुसीयाली व्यक्त गरिरहेका छन् । जिल्ला अदालत चितवनको परिसरमा पनि ठूलो संङख्यामा समर्थहरु स्वागतका लागि उपस्थित भएका छन् ।

Loading...