अब कक्षाकोठामा नै पूरा संसार अटाउँने

काठमाडौं । शिक्षा तथा मानव स्रोत विकाश केन्द्रका महानिर्देशक बाबुराम पौडेलले पुरानो सिकाउने शैली बदल्नुपर्ने बताएका छन् । कक्षाकोठामा शिक्षकले हिजो मात्रै पढाउँदा शैक्षिक गुणस्तर सुधार हुन नसकेको भन्दै पौडेलले अब आज र भोलि पढाउनुपर्ने बताए ।

शनिवार शिक्षा मन्त्रालय र रातो बङ्गला फाउण्डेसनको संयुक्त आयोजनामा शुरु भएको ३ दिने ‘दोस्रो अन्तर्राष्ट्रिय गुणस्तरीय शिक्षा सम्मेलन’को उद्घाटन सत्रमा बोल्दै महानिर्देशक पौडेलले विद्यालय बाहिर रहेका बालबालिकालाई विद्यालय भित्राउन र प्रदान गरिएको शिक्षालाई गुणस्तरीय बनाउन सम्मेलन महत्वपूर्ण रहने जानकारी दिए ।

सरकारले सबैकालागि गुणस्तरीय शिक्षा प्रत्याभूत गराउन र शिक्षाको गुणस्तरीयता कायम गर्नका लागि अन्तर्राष्ट्रिय मञ्चहरुमा धेरै प्रतिबद्धता गरेको, यसकालागि सबैका लागि शिक्षा, विद्यालय क्षेत्र सुधार योजना र हाल विद्यालय क्षेत्र विकास योजना कार्यान्वयन गरिरहेको महानिर्देशक पौडेलले जानकारी दिए ।

भर्ना अभियान, शिक्षक दरबन्दी मिलान, शिक्षण सिकाइमा सुधारलगायतको सरकारी प्रयासमा यो सम्मेलन एउटा कडी बन्ने पौडेलले विश्वास व्यक्त गरे । सम्मेलनमा शिक्षाको विगतको समिक्षा र अबको नयाँ दिशाा तय गर्ने काम हुने र त्यसको निष्कर्ष तथा घोषणा पत्र प्रदेशस्तरमा लगेर छलफल गरिने महानिर्देशक पौडेलले जानकारी दिए ।

’सम्मेलनमा भइराखेको प्रगतिको जानकारी दिने र अबको तयारीका लागि सुझाब लिइने छ’– पौडेलले भने, ’शिक्षक, विज्ञ, नीति निर्माता, निरीक्षक, सरोकारवालाहरुबीच सम्मेलनमा घनीभूत छलफल हुन्छ ।’

कक्षाकोठालाई संसारमा पुर्याउन सम्भव नभएपनि संसारलाई कक्षाकोठामा पुर्याउन र सिकाइलाई सार्थक र टिकाउ बनाउन अन्तर्राष्ट्रिय सिकाइ सम्मेलन आयोजना गरिएको उनले बताए । जहाँ अन्तर्राष्ट्रियस्तरमा सिकाइ सुधारबारे अनुभव र अभ्यास आदानप्रदान हुने पौडेलको भनाइ थियो ।

’सार्वजनिक शिक्षाको सवलीकरणमा यो सम्मेलन एउटा कडी बन्नेमा म विश्वस्त छु’– पौडेलले भने । उनले सम्मेलनमा छिमेकी चीन, भारत, बंगलादेश देखि सिंगापुर र अमेरिका सम्मका शिक्षाविद्हरुले सिकाइ विधि सिकाउने जानकारी दिए ।

Loading...