मौसम बदलिएसँगै पखालाको सङ्क्रमण

गलेश्वर, ६ भदौ । हिमाली जिल्ला म्याग्दीको सदरमुकाम बेनी बजारमा केही दिनयता पखालाको सङ्क्रमण फैलिएको छ । मौसम बदलिएसँगै पानीको मुहानमा फोहर मिसिएका कारण पखालाको सङ्क्रमण फैलिएको बेनी अस्पतालले जनाएको छ ।वर्षायामको समयमा बढी पानी पर्ने भएकाले पिउने पानीका मुहानमा फोहर मिसिएकाले पखालाको सङ्क्रमण फैलिएकोे बेनी अस्पतालका डाक्टर नवराज बास्ताकोटीले जानकारी दिए।

ल्याब परीक्षण गर्दा बिरामीमा रगतमासीसँग सम्बन्धित हिस्टोलिटीका जीवाणु भेटिएको डाक्टर बास्ताकोटीले बताए। फोहर पानी र खानेकुराका कारण पखालाको सङ्क्रमण हुने उनको भनाइ छ । अस्पतालमा आउने पखाला सङ्क्रमित बिरामीहरुमा हिस्टोलिटीका जीवाणु भेटिएको र एक सङ्क्रमित बिरामीको मिर्गौलामा समेत समस्या देखिएकाले भर्ना गरी उपचार थालिएको बताए । दैनिक १५ देखि २० जना बिरामीलाई अस्पतालमा भर्ना गरी उपचार गर्नुपर्ने अवस्था रहेको उनले जानकारी दिए।

बेनी नगरपालिका–७ र ८ मा बढी यो पखालाको सङ्क्रमणको बिरामी अस्पताल आउने गरेका छन् । पखाला सङ्क्रमण हुँदा बिरामीलाई वाकवाकी लाग्ने, बिरामीको दिसामा रगतमासी देखिने र बिरामीलाई कडा खालको ज्वरो आउने जस्ता लक्षण देखिने डाक्टर बास्ताकोटीले बर्ताए ।

पखाला नियन्त्रणका लागि विशेषगरी सरसफाइमा ध्यान दिनुपर्ने डाक्टर बास्ताकोटीले बताए । वर्षायाममा बढी यो रोग फैलिने भएकाले मुहानका पानी सफा राख्ने, घर वरिपरि सफा गर्ने र खानेपानी उमालेर पिउन मात्र सकेमा पखला सङ्क्रमणबाट बच्न सकिने उनले सुझाव दिए।दैनिक २०–२५ जना बिरामी अस्पतालमा आउने गरेको अस्पतालका सूचना अधिकारी प्रकाश सुवेदीले जानकारी दिए ।

Loading...