‘दलित भएर किन चस्मा र कोट लगाएको’ भन्दै अधिकारकर्मीलाई नै कुटपिट गर्ने २ पक्राउ

बाजुरा, ६ भदाै । बाजुरामा एक जना दलित अधिकारकर्मीमाथि कुटपिट गर्ने दुई जनालाई प्रहरीले पक्राउ गरेकाे छ । मदिरा सेवन गरी गाली गर्ने र विभेदपूर्ण भाषा प्रयोग गरी दुव्र्यवहार गरेको आरोपमा प्रहरीले उनीहरुलाइ पक्राउ गरेकाे जनाएकाे छ ।

बाजुरकाे हिमाली गाउँपालिकाका दलित अधिकारीकर्मी गोरखबहादुर सार्कीमाथि विभेदपूर्ण शब्दहरु प्रयाेग गरेर गाली गर्ने गर्ने चिरीम मल्ल र भूपि मल्ललाई प्रहरीले नियन्त्रणमा लिएको हो ।

हिमाली गाउँपालिका– ६ धिममा भदौ २ गते लागेको खौं मेलाबाट फर्किएर घरमा सुतिरहेको बेला दलित अधिकारकर्मी गोरखबहादुर सार्की र उनकी श्रीमती आप्सरी ऐडी सार्कीलाई गाली गरेको, अपमानित शब्द प्रयोग गरेको र डुम भनेर विभेद् गरेको भन्दै उजुरी परेपछि प्रहरीले दुबै जनालाई नियन्त्रणमा लिएको हो ।

गाली गर्ने चिरीम मल्ल हिमाली गाउँपालिकाका अध्यक्ष गोविन्द मल्लका छोरा र भूपि मल्ल भतिजा हुन् । राति सुतिरहेको समयमा कोठामै आएर “डुम कमारा तिमीहरु डुमले मेला हेर्नका लागि चश्मा, कोट लगाउने हो”, भनेर आपत्तिजनक गाली दिएको गोरख सार्कीले बताए ।

गाली गरेको उजुरीका आधारमा सोधपुछका लागि नियन्त्रणमा लिएर अनुसन्धान गरिएको प्रहरी नायब उपरीक्षक उद्धवसिंह भाटले बताए । पीडित सार्कीले भने आफ्नी श्रीमतीको छातीमा समेत चोट लागेको र दुवै जनालाई गालीसँगै आक्रमणसमेत गरेको बताए। घटना घटेलगत्तै दलित अधिकारकर्मी सार्कीले आफूमाथि दुवैले आक्रमण गरेको भन्दै प्रहरीलाई खबर गरेका थिए । तर आरोपित मल्लद्वयले भने आफूहरुलाई बिनाकारण फसाउन खोजिएको बताएका छन् ।

Loading...