सम्झौतासहित ब्रेक्जिटको चर्चासँगै पाउण्ड स्टर्लिङ बलियो बन्ने सङ्केत

एजेन्सी । बेलायती प्रधानमन्त्री बोरिस जोनसनले युरोपका प्रभावशाली मुलुकहरू जर्मनी र फ्रान्सका नेताहरूसँग सम्झौतासहितको ब्रेक्जिटका लागि आफू सकारात्मक रहेको तर सम्झौता दुवै पक्षको हितमा हुनुपर्ने बताएसँगै बेलायतको पाउण्ड स्टर्लिङको मूल्यमा बिहीबार नै यसको सकारात्मक प्रभाव देखिएको छ ।

फ्रान्सको राजधानी पेरिसमा युरोपेली नेताहरू एन्गेला मर्केल र फ्रान्सका राष्ट्रपति इम्यानुयल म्याक्रोँसँग भएको कुराकानीमा ब्रेक्जिटका लागि अझै निकै दिन बाँकी रहेकाले झण्डै एक महिनाको अवधिमा धेरै सम्झौताका लागि सम्भावना रहेकोे भनाइसँगै पाउण्ड स्टर्लिङ बलियो बन्ने आशा पलाएको हो ।

स्रोतका अनुसार बिहीबार पाउण्ड स्टर्लिङको मूल्यमा अस्थायीरूपमा एक प्रतिशतको सुधार देखिएको छ । दिउँसो २ः१५ बजे पाउण्डको मूल्यमा शून्य दशमलव ८५ प्रतिशतले सुधार देखिएको हो । यसरी बिहीबार अघिल्लो दिनको तुलनामा सामान्य वृद्धि हुँदा पाउण्डको मूल्य एक दशमलव २२३३ डलर माथि पुगेको हो । त्यस्तै पाउण्डको मूल्य युरोसँगको कारोवारमा पनि शून्य दशमलव ८४ प्रतिशतले वृद्धि भई एक यूरो बराबर ९० दशमलव ६३ पेन्स कायम भएको छ । यो विगत तीन हप्तायता पहिलो पटक देखिएको सुधारको सङ्केत हो ।