मान्म, ५ भदौ । जिल्लाको तिलागुफा नगरपालिका–३ फोइमहादेवको महादेव माध्यमिक विद्यालय जिल्लाको नमूना विद्यालयका रुपमा परिचित छ । विद्यालयको आफ्नै स्याउ बगैँचा, प्रशस्त जग्गा रहेको प्राविधिक शिक्षा पढाई हुने महादेव माध्यमिक विद्यालय जिल्लाकै नमूना विद्यालय हो ।
कक्षा ११ र १२ मा विज्ञान, वाणिज्य तथा शिक्षा सङ्काय र सिटिइभिटीको १८ महीने कृषि जेटिए र तीनवर्षे प्लान्ट साइन्स अध्यापन गराउँदै आएको महादेव माध्यमिक विद्यालय जिल्लाको नमूना तथा आर्थिक हिसाबले पनि सवल विद्यालयका रुपमा परिचित रहेको छ ।
विद्यालयमा २० जनाका शिक्षक कर्मचारीको दरबन्दी भए पनि विद्यालयमा ३५ जना शिक्षक तथा कर्मचारी रहेको विद्यालयका प्रधानाध्यापक नरदीप शाहीले बताए । “विद्यालयमा ३५ जना शिक्षक तथा कर्मचारी रहेका छन्”, उनले भने, “१५ जना शिक्षक तथा कर्मचारीलाई निजी स्रोतबाट व्यवस्था गरेका छौँ ।”
विद्यालय स्याउ घाँस बेच्छ
विद्यालयका करीब तीन हेक्टर जमीनमा स्याउको बगैँचा बनाइएको छ । स्याउ र घाँस बेचेर वार्षिक एक लाखसम्म आम्दानी विद्यालय गर्ने गरेको छ । विद्यालयमा स्याउ बगैँचा र स्याउबाट जाम बनाउने गरिएको र वर्षेनी घाँस बेचेर थप ४०÷४५ हजार आम्दानी गरेको शिक्षक नवीन हमालले बताए ।
“हामीले स्याउ तथा घाँस बेचेर पैसा कमाउने गरेको छ”, उनले भने, “हामीले बगैँचा हेरचार बगैँचा विद्यालयका शिक्षक र विद्यार्थीबाट हुने गरेको छ ।”विद्यालयका नाममा रहेको खेतीयोग्य जमीन भाडा स्थानीयलाई दिएको र स्थानीयले त्यो जमीनमा आलु र खाद्यबाली उत्पादन गर्ने गरेको शिक्षक हमालले बताए ।
प्राविधिक क्षेत्रमा विद्यार्थीको आकर्षण
महादेव माध्यमिक विद्यालयमा कृषि प्राविधिकतर्फको १८ महीने कार्यक्रममा दैलेख, कालिकोट, जुम्ला, हुम्ला, डोल्पाका विद्यार्थीले शिक्षा लिइरहेका र तीनवर्षे कृषि जेटिएमा जुम्ला र कालिकोटका विद्यार्थी बढी रहेको प्रधानाध्यापक नरदीप शाहीले बताए । “हिमाली जिल्लाका विद्यार्थीको प्राविधिक शिक्षामा निकै आक्रर्षण रहेको छ”, उनले भने, “यी जिल्लाबाहेक केही विद्यार्थी हुम्ला र मुगुबाट प्राविधिक शिक्षामा पढ्न आएका छन् ।”
विद्यालयमा प्राविधिक शिक्षा पढ्न आउनेलाई विद्यालयको आफ्नै होस्टेलमा राख्ने गरिएको छ । विद्यालयमा पढ्न आउनका लागि होस्टेल निःशुल्क व्यवस्था गरिएको छात्रवृत्ति दिएर १८ महीने जेटिए पढिरहेकी जुम्ला तिला गाउँपालिका पोख्रीकी सरिताकुमारी रोकाया बताए । “होस्टेल घरजस्तो छ । शिक्षक अभिभावक जस्ता”, उनले भने, “होस्टेलमा निःशुल्क बस्ने व्यवस्था छ ।”
प्रधानाध्यापक नरदीप शाही विद्यार्थीसँगै विद्यालयमा होस्टेलमा बस्ने गरेका छन् । उनी विद्यालयमा २४ घण्टा भेटिने गर्छन् । काम विशेषले बाहिर गएमात्र नत्र भने हेडसर २४ घण्टा विद्यालयमा भेटिने गरेको तिलागुफा नगरपालिका–३ का वडाध्यक्ष सूर्यबहादुर शाहीले बताए । हेड सरकै मेहनतले विद्यालय राम्रो हुन सकेको वडाध्यक्ष शाहीले बताए । “विद्यालयमा यो अवस्था आउनुमा हेडसरको प्रमुख भूमिका छ”, उनले भने “उनकै कारणले यो विद्यालयको मुहार फेरिएको छ ।”